थारु समुदायको माग सम्बोधन गरिन्छ – अध्यक्ष दाहाल

काठमाडौँ, ५ असोज । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आदिवासी थारु समुदायले उठाएको राजनीतिक मागलाई सम्बोधन गर्न आफू प्रयत्नशील रहेको बताउनुभएको छ ।

prachanda3थारु सभासद् एवम् थारु नेताहरुसँग आज बिहान लाजिम्पाटमा भएको छलफलमा अध्यक्ष दाहालले प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर समस्याको समाधान गरिने वचन दिनुभएको थियो ।

छलफलमा सहभागी सभासद् सन्तकुमार थारुले आफूहरुले प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन जानुअगावै समस्याको समाधान गर्न अध्यक्ष दाहाललाई आग्रह गरेको जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले आज साँझसम्म थारु सङ्घर्ष समितिले उठाएका माग सम्बोधन गर्न पहल गर्ने विश्वास दिलाउनुभएको थियो ।

नयाँ संविधान जारी भइसकेको अवस्थामा कुनै न कुनै माध्यमबाट राजनीतिक समस्याको हल गरिने अध्यक्ष दाहालको भनाइ थियो । “अध्यक्ष दाहालले कुनै न कुनै रुपमा थारु समुदायले उठाएका मागलाई सम्बोधन गर्ने वचन दिनुभएको छ,” सभासद् थारुले भन्नुभयो – “वार्ताको सहज वातावरण बनेको खण्डमा हामीहरु पनि समस्याको समाधान गर्न आतुर छौँ ।”

तपाइँको प्रतिक्रिया ।