बक्सिङ टोली भुटानतर्फ प्रस्थान
कपन अनलाइन
काठमाडौं , चैत २६।
फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
अप्रिल ११ देखि १३ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४८ केजीमुनि लालप्रसाद उप्रेती तथा ५१ केजीमुनि चन्द्रबहादुर थापाले प्रतिस्पर्धा गर्ने छन् । महिला ४८ केजीमुनि रमिशा श्रेष्ठ, ५० केजीमुनि अस्मिता दुवाल र ५४ केजीमुनि वर्षा श्रेष्ठले खेल्ने छन् ।
अफिसियलमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवाले, प्रशिक्षकमा बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधर र दीपक महर्जन, आईटीओमा पुस्करराज पन्त, टेक्निकलमा असिम न्यौपाने तथा निर्णायकमा धनकुमार मैनाली, सन्तोष आले मगर र अनुराधा लामा रहेका छन् ।
बक्समान्डुबाट पनि ३ खेलाडी ः
सोही प्रतियोगितामा चुच्चेपाटीस्थित बक्समान्डु बक्सिङ जिमले पनि ३ खेलाडी सहभागी गराउने भएको छ । बक्सिङका महासचिव मानबहादुर भण्डारीले महासंघकै स्वीकृतिमा बक्समान्डुले खेलाडी सहभागी गराउन लागेको जानकारी दिए ।
पुरुष ५१ केजीमुनि लक्ष्मण राई, ५७ केजीमुनि प्रवल उप्रेती र ६० केजीमुनि छिरिङ वाङ्दी शेर्पाले सहभागिता जनाउने छन् । प्रशिक्षकमा उमेश कटुवाल र सन्दीप श्रेष्ठ छन् ।
बक्समान्डु टोली पनि सोमबारै भुटान प्रस्थान गरेको छ । दुवै टोली प्रतियोगिताअघि थिम्पुमै अप्रिल ८ देखि १० तारिखसम्म हुने प्रशिक्षण शिवीरमा सहभागी हुने छन् ।