नेशनल प्याब्सन काठमाडौंको अध्यक्षमा होम बहादुर अधिकारी, बुढानिलकण्ठमा सुदिप काफ्ले
कपन अनलाइन
काठमाडौं , चैत २२।
नेशनल प्याब्सन काठमाडौं जिल्ला (स्थापना पक्ष) को वृहत जिल्ला भेला आज होटल रोयल एयरपोर्ट, सिनामंगलमा भव्य रूपमा सम्पन्न भएको छ।
त फागुन १५ र १६ गते बीरगंजमा सम्पन्न आठौं केन्द्रीय महाधिवेशनपछि तत्कालीन जिल्ला समिति भंग गरिएको थियो। त्यसपछि पहिलोपटक आज सम्पन्न भेलाबाट काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरको नयाँ संरचना औपचारिक रूपमा गठन गरिएको हो।
सो भेलाबाट मनोज होमबहादुर अधिकारी काठमाडौं जिल्ला कार्यसमितिको अध्यक्षमा चयन भएका छन्। उपाध्यक्षमा ईश्वर के.सी. र लक्ष्मी गुरुङ, सचिवमा लेखराज घिमिरे, सहसचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा बिजय न्यौपाने, सहकोषाध्यक्षमा हेमन्त श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा सुरेन्द्र मगर र रामप्रसाद काफ्ले रहेका छन्।
बूढानीलकण्ठ नगरपालिका कमिटीमा अध्यक्षमा श्री सुदीप काफ्ले, उपाध्यक्षमा सुस्मिता मैनाली, सचिवमा गोबिन्द धामी, सहसचिवमा नारायण चौलागाईं, कोषाध्यक्षमा किरण खड्का, सहकोषाध्यक्षमा बेनी खड्का तथा सदस्यहरूमा रमिस अधिकारी र रुकेश लामा चयन भएका छन्।
त्यसैगरी, काठमाडौं महानगर कमिटीमा संयोजकमा निलम मणि भट्टराई, सहसंयोजकमा राजन लम्साल, सदस्यहरूमा सुस्मिता शाह मल्ल, अभिनास शाह, बिबीलाल खड्का र सबिना थापा खड्का चयन भएका छन्।
कार्यक्रममा नेशनल प्याब्सनकी केन्द्रीय अध्यक्ष माननीय गीता राणा, निवर्तमान अध्यक्ष पाण्डव हमाल, पूर्व अध्यक्षहरू कर्ण शाही र रितुराज सापकोटा, वरिष्ठ उपाध्यक्षहरू सुर्य अधिकारी र सुबोध डागी, सचिव तेन्जिङ भोटिया सहित केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा बोल्दै सचिव तेन्जिङ भोटियाले भने, “नेशनल प्याब्सन भन्नाले गीता राणाको अध्यक्षतामा रहेको संगठन नै हो। अरू कसैको अध्यक्षतामा रहेको संस्था नेशनल प्याब्सन होइन,” भनी संगठनको वैधानिकता र एकताको पक्षमा बल दिएका थिए।
वरिष्ठ उपाध्यक्ष सुबोध डागीले संगठन फुटाएर अध्यक्ष बन्ने प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। “संस्थागत विधि र मूल्य–मान्यताको संरक्षण हाम्रो प्राथमिकता हो,” उनले जोड दिए।
केन्द्रीय अध्यक्ष गीता राणाले महाधिवेशनबाट निर्वाचित कार्यसमिति र सबैजसो पूर्व अध्यक्षहरूको साथ आफूहरूको पक्षमा रहेको उल्लेख गर्दै भनिन्, “कसैले पनि व्यक्तिगत स्वार्थ र पदलोलुपताको कारण संगठन फुटाउने काम गर्न खोजे पनि त्यो कदापि स्वीकार्य छैन।” उनका अनुसार स्थायीत्व, एकता र गुणस्तरीय शिक्षाको पक्षमा नेशनल प्याब्सनको नेतृत्व प्रतिबद्ध रहेको छ।