५२ लाख पुरस्कारको १७ औं धर्मश्रीको तयारी पूरा

५२ लाख पुरस्कारको १७ औं धर्मश्रीको तयारी पूरा

कपन अनलाइन

काठमाण्डौ ,चैत ५।

नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा यही चैत ७ देखि ९ गतेसम्म हुने तीनदिने १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ ।
आयोजकले सोमबार होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कुल ५२ लाख ६० हजार पुरस्कार राशि रहेको १७औं धर्मश्री, प्रथम पीएल सिंह मेन्स स्पोट्र्स फिजिक्स १७० सेमी ओभर÷अण्डर, प्रथम वोमेन्स बडी बिल्डिङ ओपन र ५० वर्ष माथिका मास्टर खुला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता–२०८१ को सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।
चैत्र ७ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न ६ तौल समूह विभाजन गरिएको छ । प्रतियोगितामा ६०, ६५, ७०, ७५, ८० र ८० किलो ग्रामभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा करिब ६ सय खेलाडीहरुको सहभागिता रहने आयोजकले बताएको छ । जसमध्ये प्रत्येक तौल समूहबाट ६ जना खेलाडी छनौट हुनेछन् । त्यसपछि हरेक तौल समूहको विजेताबीच ओभअलमा मिस्टर धर्मश्रीका लागि प्रतिस्पर्धा गराइनेछ । जसका विजेताले ११ किलो वजन रहेको ट्रफीसहित नगद १२ लाख पाउने छ ।
त्यस्तै दोस्रो हुनेले ६ लाख, तेस्रो हुनेले ३ लाख, चौथो हुनेले २ लाख, पाँचौं हुनेले १ लाख ८० हजार र छैठौं हुनेले १ लाख ५० पाउने छ । त्यसैगरी तौल समुहमा दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौं हुने क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १५ हजार प्राप्त गर्ने अध्यक्ष प्रधानले बताए । त्यसैगरी मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वोमेन्स बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख नगद पाउनेछन् । तेस्रोले ७० हजार चौथोले ५० हजार पाँचौले ४० हजार तथा छैटौंले ३० हजार प्राप्त गर्नेछन् ।
५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार हात पार्नेछन् । यस पटक सबै विधाको शीर्ष ६ सम्म बन्ने खेलाडीलाई नगद पुरस्कार राशीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यसपटक मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर स्व.पिएल सिंहको नाममा पिएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको छ । १७ औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको  छ । चैतको ७ गते वेइङ, चैत ८ गते प्रि–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए ।
नेपालको शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवनको आहुती दिने अमर शहिद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ सालदेखि यो प्रतियोगिता आयोजना हुदै आएको नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए । अध्यक्ष प्रधानले ब्यक्तिगत विधामा यो नेपालकै सर्वाधिक धनराशि पुरस्कार प्रतियोगिता भएको बताए। उनले धर्मश्री प्रतियोगितालाई शहीदको नाममा नेपालकै पहिलो खेल प्रतियोगिता समेत भएको बताए । २०७९ मा भएको १६औं संस्करणमा उमेश राईले धर्मश्री उपाधि जितेका थिए ।

तपाइँको प्रतिक्रिया ।
Close