गोकर्णेश्वरमा महिलाको हत्या : बागमतीमा शव भेटियो ,पाँच जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,फागुन २६ ।
गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर बागमती नदीमा फालिएको अवस्थामा शव फेला परेको छ। हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
हत्या आरोपमा पक्राउ पर्नेहरूमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक जना नाबालक रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार, प्रहरी वृत्त बौद्धको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
शनिबार गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको थियो। बोरामा प्याक गरेको अवस्थामा भेटिएको उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।
तपाइँको प्रतिक्रिया ।
