काठमाडौंका दुई विद्यालयमा बालबालिका र वातावरण (बाबा) परियोजना सम्पन्न

काठमाडौंका दुई  विद्यालयमा बालबालिका र वातावरण (बाबा) परियोजना सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,फागुन १३।

काठमाडौं महानगरपालिका, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआईयुडी) र बोटलर्स नेपाल लिमिटेडको सहकार्यमा काठमाडौंका २ सामुदायिक विद्यालयहरूमा ‘बालबालिका र वातावरण (बाबा)’ परियोजना सफलता पूर्वक सम्पन्न भएको छ। यस परियोजनाको समापनको अवसरमा दुवै विद्यालयमा मटेरियल रिकभरी सुविधाहरू (एमआरएफ) पनि हस्तान्तरण गरिएको थियो। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, काठमाडौं महानगरपालिका सिटी प्लानिङ कमिसनका शिक्षा विशेषज्ञ शैलेन्द्र झा तथा वडाका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।
२०२४ को जुन महिनामा सुरू गरिएको यस परियोजनाको उद्देश्य विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहिरका ज्ञान प्रदान गर्नुका साथै वातावरणीय विषयहरूमा शिक्षित गराउनु रहेको छ। यसले फोहोर व्यवस्थापन, फोहोरको स्रोतमै वर्गीकरण, पुनःप्रयोग र रिसाइक्लिङ जस्ता अभ्यासहरूलाई प्रवर्धन  गरेको छ। साथै, यस कार्यक्रम अन्तर्गत स्वच्छता र शहरी पानी व्यवस्थापन सम्बन्धी गतिविधिहरू पनि समेटिएका छन्। उक्त परियोजना काठमाडौं महानगरपालिकाको वडा नं. २२ स्थित हिमालय माध्यमिकविद्यालय,न्युरोड, र वडा नं. १२ स्थित श्री महेन्द्र सरस्वती सेवा आधारभूतविद्यालय, टेकुमा लागू गरिएको थियो।
समापन समारोहमा विद्यार्थीहरूले कार्यक्रममा उपस्थितमहानुभावहरुलाई विद्यालयका एमआरएफको भ्रमण गराउँदै नवप्रवर्तनशील फोहोर न्यूनीकरण प्रणाली, स्रोत वर्गीकरण र छुट्टै संकलन प्रणालीबारे जानकारी गराएका थिए। विद्यार्थीहरूले यस सुविधाको प्रयोगबाट रिसाइक्लेबल सामग्री संकलन गरी बिक्री गर्ने योजना बनाएका छन्। संकलनबाट प्राप्त आम्दानी भविष्यका बालबालिका र वातावरण (बाबा) उपसमूहका विद्यालय गतिविधिहरूमा लगानी गरिनेछ। साथै, संकलित र बिक्री गरिएका सबै फोहोरको अभिलेख राखी कार्यक्रमको प्रभाव मूल्यांकन पनि गरिनेछ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विद्यार्थी, विद्यालय व्यवस्थापन तथा परियोजना सञ्चालन टोलीलाई बधाई दिँदै विद्यालय–आधारित वातावरणीय शिक्षा कार्यक्रम बालबालिका र वातावरणलाई सफलतापूर्वक सञ्चालन गरेकोमा कोका–कोला बेभरेज नेपाल र सिआईयुडीलाई धन्यवाद व्यक्त गरेकी थिइन्। साथै, उनले यस्तो नयाँ शैक्षिक दृष्टिकोणले विद्यार्थीहरूलाई प्रभावकारी रूपमा सिक्न मद्दत गर्ने पनि बताएकी थिइन् ।
केएमसीसिटी प्लानिङ कमिसनका शिक्षा विज्ञ शैलेन्द्र झाले बाबा उपसमूह र एमआरएफले विद्यार्थीहरूलाई फोहोर व्यवस्थापनको सही तरिका सिकाएको बताएका छन्। अब उनीहरूले बेकार ठानेका वस्तुहरू संकलन गरी आम्दानीसमेत आर्जन गर्न सक्ने भएका छन्।
काठमाडौंमहानगर, वडा नं. १२ का अध्यक्ष  बालकृष्ण महर्जनले यस पहल प्रति खुसी व्यक्त गर्दै भने, “यो कार्यक्रम निकै प्रभावशाली छ। विद्यार्थीहरूले नै यसलाई अगाडि बढाएको देख्दागर्व लागेको छ र मैले मेरो वडाभरि नै घर–घरमा फोहोर वर्गीकरण अभियान सुरु गर्ने सोच बनाएको छु ।”उनले विद्यालय व्यवस्थापन, शिक्षक, र सिआईयुडीलाई धन्यवाद समेत दिएकाथिए।
सिआईयुडीका कार्यकारी निर्देशक नवीनविकास महर्जनले विद्यालयमा सिकेका कुराहरू विद्यार्थीहरूले आफ्ना घर–परिवारमा लागू गर्ने भन्दै स्वच्छता र फोहोरको मूल्यबुझ्ने क्षमता उनीहरूमा विकास भएको बताएका थिए।
कोका–कोला बेभरेज नेपालकी कम्युनिकेसन तथा सस्टेनेबिलिटी म्यानेजर स्नेहा श्रेष्ठले आफ्नो विचार राख्दै भनिन्, “हामी साझा उज्जवल भविष्यमा विश्वास गर्छौं। बाबा परियोजनाले बालबालिकालाई वातावरणीय दिगोपनको ज्ञान प्रदानगर्दै उनीहरूमा दिगो वातावरणको सोच स्थापित गर्न मद्दत गर्नेछ। काठमाडौं महानगरपालिकाको ‘बुक–फ्री फ्राइडे’ अभियानको हिस्सा बन्न पाउँदा हामी गौरवान्वित छौं र यसलाई सफल बनाउन सहयोग पु¥याएकोमा सिआईयुडी प्रति हामी आभारी छौं।”
हिमालयन माध्यमिकविद्यालयका अध्यक्ष ई. डिल्लीरत्न शाक्यले सिआइयुडी र कोका–कोला बेभरेज नेपाललाई सहयोग र पहलका लागि धन्यवाद दिएका थिए। साथै, विद्यालय भ्रमण गरी टिमलाई हौसला प्रदान गरेकोमा उनले उपमेयर डंगोलको पनि प्रशंसा गरेका थिए।

तपाइँको प्रतिक्रिया ।