१९ औँ शताव्दीमा निर्माण भएको मानिएको नित्यनाथ सत्तलको पुनःनिर्माणका लागि शिलान्यास

१९ औँ शताव्दीमा निर्माण भएको मानिएको नित्यनाथ सत्तलको पुनःनिर्माणका लागि शिलान्यास

कपन अनलाइन

काठमाण्डौ ,फागुन ९।

१९ औँ शताव्दीमा निर्माण भएको मानिएको नित्यनाथ सत्तलको पुनःनिर्माणका लागि शिलान्यास भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ८ नवाली टोलमा रहेको सत्तलको आज संघीय संसद तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा, वडाध्यक्ष आशामान संगत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वडा सदस्यहरुले एकै पटक भवनका ५ ठाउँमा जग राखेर शिलान्यास गर्नुभएको हो । सत्तल पुनःनिर्माणका लागि करबाहेक करिब २ करोड २७ लाख रुपैयाँमा निर्माण पक्षसँग सम्झौता भएको छ ।

तीनतले सत्तलको पहिलो तलामा पुस्तकालय हुनेछ । दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोगमा ल्याइनेछ । तेस्रो तला अर्थात् वुइँगलमा नित्यनाथको मन्दिर स्थल रहनेछ । परम्परागत वादन तथा गायन जस्ता विषयमा शिक्षा लिन पहिले नित्यनाथको पूजा गर्नु पर्ने प्रचलन छ । यसरी गरिने पूजामध्ये पनि विहीबारको पूजालाई विशेष मानिन्छ । यही मान्यताअनुसार विहीबारको दिन पारेर आज शिलान्यास गरिएको हो ।

२०७९ यता वडाभित्रका ४ वटा फल्चा पुनःनिर्माण भइसकेका छन् । अतिक्रमित जग्गा स्वामित्वमा लिएर वत्सलेश्वरी जात्रा सञ्चालनका लागि फल्चा निर्माण हुँदैछ । यस क्षेत्रबाट सञ्चालन हुने ठूलो जात्रामध्येको एक बत्सलेश्वरीका लागि कुनै पनि संरचना थिएन । मठा फल्चा निर्माण कार्य थालनीको चरणमा छ । २ वटा फल्चा पुनःनिर्माण अनुमतिका लागि पुरातत्व विभागमा पठाउने तयारी छ ।

इना गणेश मन्दिर, इटापाखाको स्वर्ण गणेश मन्दिर, जयबागेश्वरीको महामृत्युञ्जय मन्दिर, पशुपति परिसरको नित्यनाथ मन्दिर पुनःनिर्माण सम्पन्न भइसकेका छन् । सानासाना धार्मिक संरचनाहरुमा पिङ्गलास्थान द्यःसहितका संरचना पुनःनिर्माण भइसकेका छन् ।

हराएकै १ सय वर्षभन्दा धेरै समय वितेको ब्रह्मा मन्दिर पुनःनिर्माणको काम भइरहेको छ । मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ । यो गायत्री मार्गमा छ ।

वडाले गुह्येश्वरी मन्दिरको प्रवेश द्वारको कलात्मकता जोगाएर पुनःनिर्माण गरेको छ । पिङ्गला स्थान र तिलगंगामा द्वार निर्माण गरेको छ ।

डवलीहरुमा नवाली टोलको नवाली डवली र पशुपति भुवनेश्वरी अगाडिको बज्रेश्वरी डवली पुनःनिर्माण गरिसकेको छ । सिफल सेतो ढोकादेखि जयबागेश्वरीसम्म ढुङ्गा विछ्याएको छ । यो कार्यलाई वडा भवनदेखि पशुपति क्षेत्रसम्म पु¥याउने योजना छ । वडाध्यक्ष संगतका अनुसार यस क्षेत्रमा रहेका घरहरुको बाहिरी मोडडालाई मौलिक परम्परागत बनाउने कार्यको प्रक्रिया थालिएको छ ।

तपाइँको प्रतिक्रिया ।
Close