वर्ल्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपका लागि खेलाडी छनोट हुने
कपन अनलाइन
काठमाण्डौ ,फागुन ९।
आगामी सेप्टेम्बर २५ देखि २८ सम्म स्पेनमा आयोजना हुने तेस्रो वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालले पनि सहभागिता जनाउँदैछ ।
त्यसका लागि नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपाली खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने भएको छ । फेडेरेसनले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाली खेलाडीले वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन खेलाडी छनोट गरिने जानकारी दिएको हो ।
फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले च्याम्पियनसिपमा नेपालबाट ४ महिला र ४ पुरुष गरी ८ खेलाडी र २ अफिसियलसहित १० जनाको टिम सहभागी गराउने तयारी गरिरहेको बताए ।
वल्र्ड एथ्लेटिक्स, वल्र्ड माउन्टेन रनिङ एसोसिएसन, इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन (आईटिआरए), आईएयु र स्पेनिस ट्रेल संघले संयुक्त रुपमा उक्त च्याम्पियनसिप आयोजना गर्नेछ ।
फेडेरेसनका अन्तर्राष्ट्रिय मामिला संयोजक प्रीति खत्रीले इच्छुक खेलाडीहरुले सुरुमा आफ्नो नाम दर्ता गर्न सक्ने र त्यसपछि खेलाडीहरुको छनोट प्रक्रिया अघि बढाइने बताइन् । एक महिनापछि अप्रिलमा खेलाडीहरु छनोट गरिने उनले जानकारी दिइन् ।
खेलाडी छनोटपछि उनीहरुलाई आफ्नो स्पोनसर आफैँ खोज्नका लागि फेडेरेसनले सम्झौता गर्ने पनि उनले बताइन् ।
तर त्यतिबेलासम्म खेलाडीहरुको लागि फेडेरेसनले प्रायोजकहरु खोज्न प्रयास गर्ने कुँवरले बताए । उनले यो फेडेरेसन नयाँ संघ भएकोले विस्तारै सहयोगीहरु खोज्दै जाने बताए ।
नेपालका शीर्ष वरीयताका पुरुष खेलाडी सुमन कुलुङलाई अष्ट्रियास्थित डा. सिग्रिड फाउण्डेसनले प्रायोजन गर्नेछ । सुमनले यसअघि नै आफ्नो प्रायोजक पाइसेकोले उनको सहभागिता लगभग पक्का भइसकेको छ । यस्तै नेपालबाहिर ट्रेल रनिङहरुमा प्रतिस्पर्धा गरिरहेकी सुनमाया बुढालाई पनि कैलाश फुगाले स्पोनसर गरेको छ ।
मार्च अन्तिममा इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आईटिआरए) स्कोर हेरेर शीर्ष वरीयताका खेलाडीहरुलाई सहभागी गराउने फेडेरेसनको तयारी छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष कुँवरले जेठमा नेपालकै हालसम्मको ठूलो खप्तड रामा रोशन अल्ट्रा ट्रेल रेस तथा चैत १७ गते लाङताङ–शिवपुरी अल्ट्रा ट्रेल रेस गर्ने तयारीमा महासंघ जुटेको जानकारी गराए ।