अखिल (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष (खस आर्य) मा सुबिन चालिसेको उम्मेदवारी
कपन अनलाइन
काठमाण्डौ ,माघ १०।
लामो समयदेखि विद्यार्थी आन्दोलन र सामाजिक सेवामा सक्रिय नेता सुबिन चालिसेले अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनमा केन्द्रिय उपाध्यक्ष (खस आर्य) तर्फ उम्मेदवारी दिएका छन्। समाजसेवा र संगठनात्मक नेतृत्वमा उनले पुर्याएको योगदानका कारण चालिसेको उम्मेदवारीलाई धेरैले सशक्त दाबेदारीका रूपमा लिएका छन्।
२०६३ सालमा सृजनशील बाल समूहको अध्यक्षबाट आफ्नो नेतृत्व यात्रा थालेका चालिसेले विगत दुई दशकमा विद्यार्थी आन्दोलन, समाजसेवा र संकट व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। २०६४ मा अखिल (क्रान्तिकारी) को काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ सदस्य हुँदै संगठनभित्र आफ्नो सक्रियता बढाएका चालिसे २०६६ मा बाल उद्धार मावि इकाई समितिका इन्चार्ज र सोही वर्ष काठमाडौँ जिल्ला समिति सदस्य बनेका थिए।
२०६८ सालको भूकम्पले पाँचथर, इलाम, र तेह्रथुमका विद्यालयहरूमा पुर्याएको क्षतिको बेला राहत र पुनर्निर्माण अभियानमा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। २०७२ सालको विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोक, काभ्रे, दोलखा र काठमाडौँ उपत्यकामा विभिन्न संघसंस्थाको सहकार्यमा राहत र पुनर्निर्माण कार्यमा सक्रियरूपमा खटिएका थिए।
२०७० सालमा ३० दिनको हिरासतमा परेका चालिसे राजनीतिक आस्थाका कारण जेल जीवन बिताउने एउटा साहसी विद्यार्थी नेताका रूपमा चिनिन्छन्। भारतले लगाएको अघोषित नाकाबन्दीका समयमा उनले राष्ट्रिय जागरण आन्दोलनमा सहभागी भई राष्ट्रियताका पक्षमा आवाज बुलन्द पारेका थिए।
सन् २०१४ मा दक्षिण कोरियाको शैक्षिक भ्रमण गरेका चालिसेले त्यहाँको सकारात्मक अभ्यासलाई नेपाली समाजमा लागू गर्ने प्रयास गरेका छन्। २०७१ सालमा उनले सामाजिक जागरण अभियान नेपाल (सामिन) नामक समूह स्थापना गरी युवालाई समाजसेवामा प्रेरित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए।
कोभिड-१९ महामारीका बेला उनले पीडित परिवारका लागि राहत अभियान सञ्चालन गर्दै समाजको सेवामा आफूलाई समर्पित राखेका थिए।
उनको उम्मेदवारीले विशेषगरी बागमती र उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरूको ठूलो समर्थन पाएको छ। खस आर्य तर्फ कर्णाली प्रदेशबाट ४ जना र सुदूरपश्चिमबाट १ जना उम्मेदवार रहेका छन् भने बागमती र उपत्यका विशेष प्रदेशबाट भने चालिसे एक्ला उम्मेदवार हुन्।
“म संगठनलाई सुदृढ बनाउन र विद्यार्थीका हकहितका लागि समर्पित छु,” चालिसेले भने। “विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउँदै सामाजिक न्याय र समानताको पक्षमा काम गर्न मैले आफ्नो उम्मेदवारी पेश गरेको हुँ।”
देशभरका प्रतिनिधिहरूमाझ लोकप्रिय रहेका चालिसेले आफ्नो नेतृत्वले संगठनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।