काठमाण्डौ -८ मा हराएकै सय वर्ष नाघेको ब्रह्मा मन्दिर उत्खनन गरेर पुनःनिर्माण सुरु
काठमाण्डौ महानगरपालिका वडा नं ८ मा शास्त्रीय विधिविधानपूर्वक व्रह्मा मन्दिर पुनःनिर्माणको शिलान्यास गरिएको छ । वडा नं ८ जय वागेश्वरी, गायत्री मार्गमा रहेको मन्दिर उत्खनन गरेर वडाध्यक्ष आशामान संगतले शिलान्यास गरेका छन ।
वडा अध्यक्ष संगतका अनुसार यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । पुरातत्व विभागको सहयोगमा उत्खननपश्चात् यसको प्राचीनताको अध्ययन गरेर मन्दिर निर्माण गर्न लागिएको हो । यसबाट मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ ।
‘मन्दिरको वनावट र प्रकृति सम्बन्धी दस्तावेज नपाइए पछि हामीले जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुबाट मन्दिरको रेखाङ्कन गराएका हौँ ।’ संगतले जानकारी दिए ।
उनका अनुसार मन्दिरको मूर्ति वर्षौँदेखि गौशाला प्रहरी कार्यालयमा रहेकोले उल्लेख गर्दै प्रहरी कार्यालयबाट मन्दिरमा सार्न हतार भइसकेको उल्लेख गरेका छन ।
सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट करिब १ करोड १५ लाख रुपैयाँको लागतमा सो मन्दिरको पुनःनिर्माण हुँदैछ । आउँदो वर्षको साउन २६ भित्र पुनःनिर्माण सम्पन्न गर्ने गरी कामको जिम्मा दिइएको छ । माटो, इटा र काठको प्रयोगबाट निर्माण हुने मन्दिर दुई तलाको प्यागोडा शैलीको हुनेछ । मन्दिरमा शिरमा गजुर राखिनेछ ।
निर्माण कार्य गर्दा वडासँगै महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभाग, स्थानीय समुदाय, संघसंस्थाहरुसँगको समन्वय गरिनेछ ।
