प्रधानमन्त्री कोइरालाद्वारा अनशन तोड्न आग्रह
काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले संविधानमा हिन्दू राज्य रहनुपर्ने माग गर्दै अनशन बसेका हिन्दू युवालाई अनशन तोडी संविधान निर्माण र जारी गर्ने कार्यमा सहयोग पु¥याउन आग्रह गर्नु भएको छ ।
संविधानमा हिन्दू राज्य लेखिनुपर्ने मागसहित आमरण अनशनमा बसेका युवाको स्वास्थ्य अवस्थाको जानकारी गराउन राष्ट्रिय हिन्दू जागरण अभियानका संयोजक पूर्व सांसद शंकर पाण्डेको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटार आएको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री कोइरालाले सो आग्रह गर्नु भएको हो ।
सो अवसरमा प्रम कोइरालाले नेपाली जनताले संविधान निर्माणका लागि नै संविधानसभा सदस्यलाई निर्वाचित गरेको उल्लेख गर्दै विभिन्न आस्था र विचार भएका राजनीतिक दलका बीचमा सम्झौता गरेर संविधान निर्माण गर्नु परेको यथार्थलाई बुझिदिन पनि आग्रह गर्नुभएको थियो ।
उहाँले संविधानसभाबाट संविधान निर्माणमा नै नेपालको झण्डै एक दशकको समय व्यतित हुन लागेको स्मरण गराउँदै शान्ति, स्थिरता, विकासका लागि र हालसम्मका आन्दोलनले हासिल गरेका उपलब्धिलाई संस्थागत गर्ने लोकतान्त्रिक संविधान चाहिएको उल्लेख गर्नुभयो ।
हिन्दूहरु अल्पमतमा पर्दैनन् ,प्रधानमन्त्री कोइरालाले ८५ प्रतिशत हिन्दू रहेको मुलुकमा हिन्दूहरु अल्पमतमा पर्ने प्रश्न नै नउठ्ने बताउँदै संविधानमा समयानुकूल परिवर्तन हुने पनि बताउनु भयो ।
सोही अवसरमा वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले संविधान पारित गर्न दुईतिहाई मत चाहिने हुनाले नेपाली काँग्रेसले चाहँदाचाहँदै पनि कतिपय विषय आफूले भने जस्तो नभएको उल्लेख गर्नु भयो । उहाँले नेपालको परिप्रेक्षमा धर्म निरपेक्षताले सनातनदेखि चलिआएका धार्मिक र सांस्कृतिक परम्पराको संरक्षणलाई बुझाउने व्याख्या गरेर हिन्दू धर्मलाई संरक्षित गरिएको बताउनुभयो ।
मन्त्री आचार्यले हिन्दू धर्मको सहिष्णुभाव र शान्तिप्रतिको चाहनालाई अन्तर्राष्ट्रियकरण गर्ने यो शुभअवसर भएकाले संविधान निर्माण र जारी गर्ने कार्यमा सहयोग गर्न समस्त हिन्दूधर्मका ॐ कार परिवारसँग अपिल गर्नुभएको थियो ।