काठमाण्डौ महानगरपालिकामा मासिक न्युनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित ‘अन द जब ट्रेनिङ्’
काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई मासिक न्युनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारी साधन मर्मतको ‘अन द जब’ का लागि पठाउने भएको छ । यसका लागि महानगरपालिका र चाँगुनारायण फाउन्डेसन बिच सम्झौता भएको छ । महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र फाउन्डेसनका तर्फबाट अध्यक्ष मनिराज खत्रीले हस्ताक्षर गरेको सम्झौता मंगलबार उपप्रमुख सुनिता डंगोल र सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. को रोहवरमा आदान प्रदान भएको छ ।
सम्झौतापछिको प्रतिक्रियामा उपप्रमुख सुनिता डंगोलले भनिन , ‘साझेदार सबैको भूमिका जोडेर साझा लक्ष्य पूरा गर्न सकिन्छ । हामी वहुसाझेदार कार्यक्रममा पनि खुला छौँ । यसबाट दिगो नतिजा निकाल्न सकिनेमा विश्वास राखेका छौँ ।’
गएको वर्ष महानगरपालिकाले सिप मेलाबाट प्रदान गरेको अटो इलेक्ट्रिकमा ४० जना इलेक्ट्रिकल भेहिकल (इभी) मा ६० जना गरी १ सय जनाले १ महिने तालिम लिनुभएको थियो । उनिहरुमध्ये सबैलाई सम्पर्क गर्दा ५० जनाले रोजगारीमा जान इच्छा देखाएका थिए । अरुबाट रोजगार र स्वरोजगारमा भएको सूचना प्राप्त भयो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार इच्छुक ५० जनामध्ये ३० जना छनोट गरेर ‘अन द जब ट्रेनिङ्’ मा पठाइनेछ । यसरी पारिश्रमिकसहितको तालिम र रोजगारीका लागि निजी तथा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले प्रतिवद्धता जनाउनुभएको छ । सम्झौता गरेर प्रतिवद्धतालाई कार्यान्वयनमा लगिनेछ ।
फाउन्डेसनसँग २०८३ असार मसान्तसम्मका लागि सम्झौता भएको हो । यसबमोजिम प्रशिक्षार्थीलाई आधारभूत तालिम दिएर महानगरपालिकाले ‘अन द जव ट्रेनिङ्’ का लागि शिफारिस गर्नेछ । यसपछि कार्यस्थलमा सिप सिक्ने प्रबन्धको संयोजन फाउन्डेसनले गर्नेछ । यसरी कार्यस्थलमा सिप सिक्ने प्रशिक्षार्थीले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । जसमा कार्यस्थल रहेको उद्योगबाट ९ हजार रुपैयाँ र फाउन्डेसनले ९ हजार रुपैयाँ प्रदान गर्नेछन् ।