नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३।

आगामी असोज ४ र ५ गते नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको तयारी तीव्र रूपमा अघि बढेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

सम्मेलन नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रूम टु रीडको संयुक्त आयोजनामा हुन लागेको हो । अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजक समितिका संयोजक, नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति एवम् बालसाहित्य विभागका प्रमुख विमलकृष्ण श्रेष्ठले सम्मेलनले बालसाहित्य सम्बन्धी प्राज्ञिक बहसलाई अघि बढाएर नेपाली बालसाहित्यको लेखनस्तरलाई माथि उठाउन योगदान पुग्ने बताए  । आयोजक संस्थामध्येका एक, नेपाल बालसाहित्य समाजका अध्यक्ष एवम् आयोजक समितिका सदस्य प्रमोद प्रधानले धेरै लामो समयको प्रयासपछि पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना गर्न सम्भव भएको बताउँदै सम्मेलनबाट नेपाली बालसाहित्यबारे अन्य देशका सहभागीलाई जानकारी दिन र अन्य देशको बालसाहित्यबारे जानकारी लिन सकिने भएकोले यसको विशेष महत्त्व हुने विचार प्रकट गरेका थिए ।

आयोजक समितिका सदस्यसचिव एवम् नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले सम्मेलनमा दक्षिण एसियाका भारत, बाङ्लादेश, भुटान, श्रीलंका, पाकिस्तानसहित जापान, मलेसिया, दक्षिण कोरिया तथा डेनमार्क, नेदरल्यान्ड, नर्वे लगायतका देशबाट सहभागी हुने जानकारी दिएका थिए  ।

आयोजक समितिका सदस्य महेश पौड्यालले सम्मेलनमा नेपाली र अङ्ग्रेजी भाषा प्रयोग हुने स्पष्ट पारेका थिए  । पत्रकार सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवम् आयोजक समितिका सदस्य त्रैलोक्यमान बनेपाली, आयोजक समितिका सदस्यहरू भोला श्रेष्ठ र अनुराधाले पनि पत्रकारका विविध प्रश्नहरूको जवाफ दिए  ।

तपाइँको प्रतिक्रिया ।