नेपालले भोलि बङ्गलादेशको सामना गर्ने
काठमाडौँ, ६ भदौ । अखिल नेपाल फुटबल सङ्घले आयोजना गरेको १९ वर्ष मुनिको पहिलो साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भोलि सोमबार बङ्गलादेशको सामना गर्ने भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल खेल मैदानमा दिउँसो ३ः३० बजेदेखि नेपालले बङ्गलादेशको सामना गर्नेछ । जारी प्रतियोगितामा नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । शनिबार भएको खेलमा बङ्गलादेशले भुटानलाई २–० ले गोलअन्तरले पराजित गरेपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै, भुटान भने लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा भुटान नेपालसँग ०–३ गोलअन्तरले पराजित भएको थियो । जारी प्रतियोगितामा नेपाल र बङ्गलादेशले समान ३÷३ अङ्क जोडेका छन् । दुवै टोली समूह विजेताका लागि भिड्नेछन् ।
विभिन्न छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश र भुटान छन् । त्यसैगरी समूह ‘बी’ मा माल्दिभ्स, भारत र अफगानिस्तान परेका छन् ।