मेरो अभिमान मेरो पिता : अञ्जु चालिसे (कविता )

मेरो अभिमान मेरो पिता : अञ्जु चालिसे (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार २२।

व्यवहारले फौलाद बन्न विवश
आत्माले पूmल जस्तै कोमल
स्वाभिमानले भरपुर
मृदुल मेरो पिता

पारिजात र कल्पतरु झैँ
शितल छहारी दिने
सौम्य, शान्त मेरो पिता
माया देखाउन नजान्ने
संस्कार र अनुशासन रुपी
वृक्ष रोपण गर्न सिपालु
मेरो अभिमान मेरो पिता

नरिवल जस्तै बाहिर कडा, भित्र नरम रसिलो
कलिलो औला समाउँदै
जिन्दगीको कठोर धरातलमा
पहिलो पाइला टेक्न सिकाउने
ज्ञानी, गुणी मेरो पिता

ठोकिएर लड्दा पनि दुखाई भुलाउँदै अघि बढ्न सिकाउने
मेरो सुनौलो भबिष्यको लागि
आफ्नो अमूल्य जवानी खर्च गर्ने मेरो आदर्श, मेरो पिता

आमाले जस्तो व्यक्त गर्न नजाने पनि,
अन्तर्मनले मलाई बुझ्ने, सम्झने
सामुन्ने भावना व्यक्त गर्न असमर्थ
मायाको खानी
मेरो पिता मेरो अभिमान

आमाको यादमा हरदिन टुटेर आफैलाई सम्हाल्दै
सालौं साल बितिसके पछि पनि हरपल यादहरू सम्हाल्दै,
उनकै यादमा बाँच्ने
मेरो पिता मेरो अभिमान

शुन्य आँखाले आशिर्वाद बर्साउदै
सामाजिक रिति निभाउदै, कन्यादानपछि
एक्लै मलाई मेरो कोठामा खोज्ने
दुःखमा पनि खुशी हुन सिकाउने
मेरो अभिमान मेरो पिता

समुन्द्र जस्तै अटल,
अथाह माया लुटाउने
सम्पूर्ण परिवारको हिम्मत, सहारा
सबै नाता सम्बन्धको बलियो डोरी
मेरो अभिमान मेरो पिता

न बुझ्दा लाग्थ्यो सारै कठोर
मायामा सदा डर
आज त्यहि डरले भयो जीवन मेरो मधुर
मेरो सहारा, मेरो इज्जत, मेरो संसार
मेरो सम्मान मेरो पिता

मेरो ताकत मेरो पुँजी
मेरो पहिचान मेरो पिता
पूर्वजन्मको सुकर्मको
पुरस्कार हो मेरो पिता
माया दिने, धैर्य दिने, रक्षा गर्ने मेरो पिता
मेरो साथी, मेरो संसार
मेरो अभिमान हो, मेरो पिता।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।