एकता : त्रिलोचन आचार्य (कविता )

एकता : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार २२।

१. हिँडे म एकनासले हिमाल नाघ्न सक्दछु
मिलेर साथमा उठे विकास भर्न सक्दछु
गरे हुँदैन के यहाँ ? मिलेर हात हातले
उठेर घाम आउँदा बसेर हुन्न रातले ।

२. छ रम्यता भने त्यहाँ छ एकता अवश्य नै
छ मित्रता भने त्यहाँ छ स्वच्छता अवश्य नै
रहन्छ एक चाहना भने सुवास चल्दछ
लियौँ समग्र भावना भने मिठास बढ्दछ ।

३. भए मिलाप भाइमा जितिन्छ युद्ध निश्चित
विशुद्ध चित्त एक होस् बनिन्छ बुद्ध निश्चित
बढे मिलेर लक्ष्यमा सकिन्छ टेक्न निश्चित
त्यसै उठेन मेघ त्यो अनेक गर्जनासित ।

४. छ भूमि एक के गरौँ? अनेक देशका कुरा
छ ज्ञान एक भित्र के गरौँ र भेषका कुरा ?
लिई गला कलासँगै बजी रहेछ बाँसुरी
म एकता सजाउँला बनेर माहुरीसरि ।

५. अनेक सङ्घ छन् भने छ सङ्घभित्र एकता
अनेक रङ्ग ढङ्गका तरङ्गभित्र एकता
रहन्न एकता जता त्यता विनाश धाउँछ
र सृष्टि एक भावकै अनेक गीत गाउँछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।