महांकाल, ह्याङले, हेटौडा र थाहा प्रकाश दाहाल स्मृति भलिबलको सेमिफाइनलमा

महांकाल, ह्याङले, हेटौडा र थाहा प्रकाश दाहाल स्मृति भलिबलको सेमिफाइनलमा

कपन अनलाइन

काठमाण्डौ,बैशाख २४।

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौडा उप महानगरपालिका, र थाहा नगरपालिका पहिलो प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार सेमिफाइनल प्रवेशको क्रममा महांकालले बाग्मती गाउँ पालिकालाई २५–२२, २९–२९ ले हराएको हो । महांकालले सेमिफाइनलमा थाहासँग खेल्ने छ । थाहाले माडी नगरपालिकालाई २५–१७,२५–२१ ले हराएको हो ।
हेटौडाले खाँडादेवी गाउँपालिकालाई २५–१२, २५–१६ ले हराएको हो । अर्को क्वार्टरफाइनल खेलमा ह्याङलेले गाकर्णेश्वर नगरपालिकालाई २५–२३, २९–२७ ले हरायो । हेटौडा र ह्याङले सेमिफाइनलमा भिड्ने छन् ।
१६ टोलीको सहभागिता रहेको प्रतियोगिता मंगलबार सकिने छ । प्रधानमन्त्री दाहालका छोरा ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ । विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ । साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।
प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्राङ्गण तथा मानीखेलको भलिबल मैदानमा भइरहेको छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा भएको हो । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट शीर्ष दुई स्थान पाउने टोली अन्तिम आडमा प्रवेश गर्ने बोगटीले जानकारी दिए ।
आयोजक कमिटीको संयोजक डोल्मा माया गोलले प्रतियोगिताको सफलताले सो क्षेत्रमा भलिबलको विकासमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति सह आयोजक रहेको छ ।
प्रतियोगिताको सुरुवात देखि उत्कृष्ट प्रदर्शन गर्दै आएका हेटौडा र थाहा अपराजित टोली हुन् । घरेलु टोली महांकाल भने पहिलो खेलमा हेटौडासँग पराजित हुनुको बाबजुद उत्कृष्ट कम ब्याक गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

तपाइँको प्रतिक्रिया ।