साकोस एकरुपता प्रणाली घोषणा

साकोस एकरुपता प्रणाली घोषणा

काठमाडौँ, ३२ साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)ले सहकारीको एकरुपताका लागि साकोस एकरुपता प्रणाली घोष्णा गरेको छ । संस्थाको २८औँ स्थापना दिवसका अवसरमा बचत तथा ऋण सहकारी (साकोस)हरुको सुशासन र आर्थिक अनुशासनका लागि साकोस एकरुपता प्रणाली घोषणा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले जानकारी गराउनुभयो ।

1439809555598_RS-KTM-nefscun-2
नीतिगत केन्द्रीयता र सञ्चालन स्वायत्तताको अवधारणामा नीति, विधि, प्रविधि र शैलीमा मुलुकभर एउटै स्वरुपमा सञ्चालन गर्ने, लेखा तालिका र ढाँचा, सूचनापाटी, रङ र लेटरप्याड आदिबाट एकीकृत साकोस प्रणाली लागू गर्ने तयारी गरिएको संस्थाले जनाएको छ ।

यस्तै नेफ्स्कुन सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक तथा नेफ्स्कुनका निवर्तमान अध्यक्ष मीनराज कँडेलका अनुसार यस वर्ष किसान बचत तथा ऋण सहकारी संस्था गैँडाकोट मुलुककै सर्वोत्कृष्ट सहकारीका रुपमा छनोट भएको छ ।

महिलातर्फ मकवानपुरको महिला जनचेतना साकोस चुरियामाई मुलुककै महिलाबाट सञ्चालित उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मानित हुने भएको छ । जिल्ला सङ्घमा चितवन जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सर्वोत्कृष्ट सङ्घ घोषणा भएको छ ।

पूर्वाञ्चलतर्फ हाम्रो साकोस उर्लाबारी, मध्यमाञ्चलतर्फ स्रोत परिचालन धादिङ, पश्चिमाञ्चलतर्फ गैँडाकोट, मध्यपश्चिमतर्फ विश्वासिलो बर्दिया र सुदूरपश्चिमतर्फ जनज्योति कञ्चनपुरलाई विकास क्षेत्रस्तरीय उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मान गरिने भएको कँडेलले जानकारी गराउनुभयो ।

1439809695564_RS-KTM-nefscun-4

यस वर्षको संस्थापक अध्यक्ष पुरस्कार दोलखाका केशव कार्की र मोरङका पार्वती बराललाई सम्मान दिइने भएको छ । नेफ्स्कुन सम्मान मकवानपुरका मेनका दाहाल र काठमाडौँका देवेन्द्र अर्याललाई प्रदान गरिने घोषणा गरिएको छ । त्यस्तै नेफ्स्कुन विद्वता पुरस्कार रुपन्देहीका डा खगराज शर्मालाई दिइने छ । शर्माले सहकारीमार्फत गरिबी निवारणमा विद्यावारिधि गर्नुभएको हो ।

नेफ्स्कुन राइफाइसन क्रेडिट युनियन पुरस्कार आइरिस लिग अफ क्रेडिट युनियन आयरल्यान्डलाई दिइने भएको छ । साकोस अभियानका उत्कृष्ट व्यवस्थापकका रुपमा बुडोल काभ्रेपलाञ्चोकका विवेकराज ठकुरी र नेफ्स्कुनका उत्कृष्ट कर्मचारीका रुपमा थलप्रसाद चौलागार्इं, नेकोस प्लस सफ्टवेयरतर्फ ज्योति मिर्मिरे सामूहिक साकोस पनौती, अन्तर लगानीतर्फ लालीगुराँस मोरङ, सहकारी सदस्य सुरक्षा योजनातर्फ सहयोगी साकोस सुनसरी र लघुवित्त कार्यक्रमतर्फ सप्तकोसी साकोस सम्मानित हुने सापकोटाले जानकारी गराउनुभयो । उक्त सम्मान तथा पुरस्कार संस्थाको वार्षिक साधारणसभाका अवसरमा प्रदान गरिने जनाइएको छ ।

1439809976745_RS-KTM-nefscun-6

कार्यक्रममा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवम् सभासद् केशवप्रसाद बडालले मुलुकको बचत तथा ऋण सहकारी क्षेत्रको प्रभाव र गरिमा व्यापक रहेको बताउँदै यसको सुशासन र नियमनका लागि नेफ्स्कुनले क्रियाशीलता र भूमिका बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

“राम्रो काम गर्ने सहकारीलाई सम्मान र बदमासी गर्नेलाई दण्डित गर्ने गरी सहकारी अध्यादेश प्रस्तुत भएको छ”, उहाँले भन्नुभयो, “अभियानको मागबमोजिम तत्काल सरकारले ऐन ल्याउनुपर्छ, सहकारीले उत्पादन र सेवाका सबै क्षेत्रमा प्रवेश गर्न चाहिरहेका कारण विद्यमान कानुनी समस्यालाई तत्काल समाधान गर्न आवश्यक छ ।”

नेपाल स्वास्थ्य सेवा केन्द्रीय सहकारी सङ्घका अध्यक्ष एवम् सभासद् राजेन्द्रप्रसाद पाण्डेले सहकारी सुशासन र वित्तीय अनुशासनका लागि छुट्टै कानुन बनाउने कार्यमा सहयोग गरिने बताउनुभयो ।

नेफ्स्कुनका अध्यक्ष ऋषिराज घिमिरे, महासचिव परितोष पौड्याललगायतले बचत तथा ऋण सहकारीको गुणस्तर र स्तरीकरणका लागि साकोस एकरुपता प्रणाली अनिवार्य रहेको बताउनुभयो । सो अवसरमा सहकारीमा विद्यावारिधि प्राप्त गर्ने डा विश्वमोहन आचार्यलाई सम्मान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।