बर्दिवासमा मृत्यु हुनेको सङ्ख्या आठ, चारको सनाखत

गौशाला, २६ साउन । महोत्तरीको बर्दिवासमा सोमबार साँझ बोलबमको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ मृतकमध्ये आज बिहानसम्म चार जनाको सनाखत भएको छ ।

 

सनाखत भएकामा महोत्तरीको एरहिया–३ बस्ने मनोज साह, जगदीश साह, मटिहानी–५ बस्ने विवेक मण्डल र धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–५ बस्ने हरि साह हलुवाई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सिन्धुली जिल्लाको लङ्गुरखोला महादेवलाई दर्शन गरी फर्किरहेको बोलबम यात्रु बोकेको ज१ख ५२९ नम्बरको बस बर्दिवास नगरपालिका–५ स्थित भोगटे पुलमा पल्टिँदा सोमबार साँझसम्म छ जनाको मृत्यु भएको र बर्दिवासस्थित जनसेवा अस्पतालमा राति उपचारको क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

सोही दुर्घटनामा परी ७० जना घाइते भएका छन् । घाइतेमध्ये ६९ जनाको उपचार बर्दिवासस्थित जनसेवा, होप, शुभ स्वस्तिक र बर्दिवास अस्पतालमा उपचार भइरहेको छ भने एकजनाको उपचार भारतको दरभङ्गामा भइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।