पल्सर स्पोर्ट्स अवार्डको चार विधाका शीर्ष तीन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डको चार विधाका शीर्ष तीन सार्वजनिक

कपन अनलाइन
काठमाडौं,माघ २६।
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स  अवार्ड २०७९ को चार विधाका शीर्ष तीनको मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै चार विधाका शीर्ष तीनभित्र परेकाको मनोनयन सार्वजनिक गरेको हो ।
वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकको शीर्ष तीन मनोनयन गरिएको हो । वर्ष उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन, क्रिकेटका जगत टमाटा तथा वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका आशिफ शेख र रोहितकुमार पौडेल र एथलेटिक्सका दीपक अधिकारी शीर्ष तीनभित्र पर्न सफल भएका छन् ।
यस पटक २०औं संस्करण माघ २८ गते आइतबार याक एन्ड यति होटलमा आयोजना हुँदै छ । वर्षको उत्कृष्ट महिला खेलाडीमा बास्केटबलकी अनुशा मल्ल, एथलेटिक्सका पुष्पा भण्डारी र राजपुरा पछाईं तथा वर्ष युवा खेलाडीमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ शीर्ष तीनको मनोनयनमा परेका छन् ।
उत्कृष्ट तीनबाट कार्यक्रमकै दिन विजेता चयन गरिने छनोट समितिका समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिएका छन् । यस संस्करणदेखि चार विधामा समान आठ जना मनोनयनमा समावेश गरिएको हो । यसअघि पाँच जना मनोनयन सार्वजनिक हुने र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा गर्ने गरिन्थ्यो ।
यद्यपि, यस संस्करणबाट अवार्ड आयोजनाको केही दिन अगाडि नै शीर्ष तीनको मनोनयन सार्वजनिक गर्न थालिएको हो । पल्सर स्पोर्ट्स अवार्डमा प्रदान गरिने ९ विधामध्ये पाँच विधाको मनोयनन कार्यक्रमअघि नै सार्वजनिक हुने परम्परा छ । पिपल्स च्वाइस विधामा भने पाँच मनोनयन नै यथावत् र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा हुनेछ । मञ्चका महासचिवसमेत रहेको खेलाडी छनोट समितिका संयोजक ओलीले वर्ष २०७९ मा उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडी तथा प्रशिक्षकलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यअनुरूप सुरुआतमा शीर्ष आठको मनोनयन गरिएको बताए ।
‘हाम्रो उद्देश्य धेरैभन्दा धेरै नेपालका खेलकर्मीले यो अवार्डप्रति अपनत्व होस् भन्ने उद्देश्य हो । त्यसैले सुरुमा आठ जनासम्म मनोनयन बढाएका हौं,’ संयोजक ओलीले भने ।
पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठको मनोनयनमा परेका छन् । मञ्चले पिपल्स च्वाइस विधाको भोटिङ पनि अन्तिम चरण पुगेको जनाएको छ । उनीहरूका लागि ई–सेवाबाट भोटिङ र मञ्चको ल्क्व्ँ एगकिबच क्उयचतक ब्धबचम तथा मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनीको आधिकारिक फेसबुक पेजबाट भोटिङ शनिबार मध्यरातसम्म जारी रहनेछ ।
स्पोर्ट्स अवार्डका अन्य विधामा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन हुनेछ । यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । त्यसमध्ये दुईवटा एन २५० र तीनवटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र बिमा पोलिसी प्रदान गरिनेछ । स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी तथा सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा होटल ग्रुप, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।