सहकारीको वित्तीय कारोबारलाई सुरक्षित गर्न यससम्बन्धी छुट्टै ऐनको आवश्यकता

काठमाडौँ, २१  साउन । सहकारीको वित्तीय कारोबारलाई सुरक्षित गर्न यससम्बन्धी छुट्टै ऐनको आवश्यकता औँल्याइएको छ ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले हिजो यहाँ आयोजना गरेको अन्तक्र्रियामा त्यस क्षेत्रका अभियन्ताले सहकारी क्षेत्रको जोखिम न्यूनीकरणका लागि ऐन ल्याउनुपर्नेमा जोड दिए । राष्ट्रिय सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सहकारी नीति र सिद्धान्तलाई अवलम्बन गर्ने सहकारीको वित्तीय कारोबार कहिल्यै जोखिममा नपर्ने बताउँदै सहकारी नीतिलाई आत्मसात् गर्दै कारोबार गर्न आग्रह गर्नुभयो ।

 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) का उपाध्यक्ष डिबी बस्नेतले सहकारी कारोबारलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर विभिन्न समयमा तालिम तथा छुट्टै कोषको व्यवस्था गरेको जानकारी दिनुभयो । सहकारी विभागका उपसचिव विष्णु घिमिरेले पैसा कमाउँछु भन्ने मानसिकताका साथ सहकारीमा लागेकै कारण सहकारी क्षेत्र बद्नाम हुन पुगेको छ भन्दै यसको नियन्त्रणका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला सहकारी सङ्घ काठमाडौँका अध्यक्ष टेकप्रसाद चौलागाईंले सहकारी सञ्चालकले सहकारीको पैसा आफ्नो निजी व्यवसायमा लगाउँदा समस्या उत्पन्न भएको देखिएकाले उनीहरुलाई सहकारी शिक्षा दिनु आवश्यक छ भन्नुभयो । कार्यक्रममा नेफ्स्कुनका कोषाध्यक्ष नानीबाबु बुढाथोकी, राष्ट्रिय सहकारी बैंकका प्रबन्ध निर्देशक केबी उप्रेती र सिजेएनका अध्यक्ष डिल्ली सापकोटाले मुलुकको आर्थिक विकासका लागि संविधानमा सहकारीलाई तीन खम्बे आर्थिक नीतिमा राख्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा हाल ३२ हजारभन्दा बढी सहकारी सञ्चालनमा छन् । तीमध्ये करिब १४ हजारले वित्तीय कारोबार गरिरहेका छन् । उनीहरुले तीन खर्बभन्दा बढी पुँजी परिचालन गरिरहेका छन् । ती सहकारीमा ४८ लाख सदस्य रहेका सहकारी विभागको तथ्याङ्क छ ।

तपाइँको प्रतिक्रिया ।