पत्रकार महासंघ उपत्यका प्रदेशको कार्यालयमा जनपत्रकार संगठन नेपालले गर्यो तालाबन्दी

पत्रकार महासंघ उपत्यका प्रदेशको कार्यालयमा जनपत्रकार संगठन नेपालले गर्यो तालाबन्दी

कपन अनलाइन

काठमाण्डौ ,माघ १८ ।

जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । काठमाडौं जिल्ला शाखाबाट आवेदन दिएका पत्रकारहरुको सदस्यता स्थगन गरेर महासंघको सदस्यता पाउने अधिकार खोसेको भन्दै संगठनले बुधबार प्रदेश कार्यालयमा तालाबन्दी गरेको हो ।

संगठनका उपत्यका प्रदेश संयोजक शोभराज बरालको नेतृत्वमा गएको टीमले कार्यालयको मुलगेटमा तालाबन्दी गरेको हो । संगठनले तत्काल प्रदेशले गरेको सदस्यता स्थगन फुकुवा गरेर निष्पक्ष छानविन गरी सदस्यता दिलाउन माग गरेको छ । नेपाल पत्रकार महासंघले गएको बैशाखमा नयाँ सदस्यता आह्वान गरेको भएपनि मापदण्ड पुगेका पत्रकारलाई आवेदन दिन महासंघले आनाकानी गर्दै सिंडिकेट लाद्न खोजेपछि संगठनले तालाबन्दी गर्नुपरेको संयोजक बरालको भनाई छ ।

महासंघको सदस्यता विवाद पनि जिल्ला शाखाले आफू निकटका पत्रकारको नाम छनोट गरी प्रदेशमा पठाएको थियो । प्रदेशले जिल्ला पठाएको नामावली चित्त नबुझेको भन्दै नयाँ सदस्यता आवेदन दिएका पत्रकारहरुको सदस्यता स्थगन गरेको थियो ।

बरालले नयाँ सदस्यताका लागि काठमाडौं जिल्ला शाखाबाट आवेदन दिएका ६३७ जनाकै एकएक फाइल खोलेर छानविन गर्न जोडदार माग गरेका छन् । ‘महासंघको विद्यान अनुसार मापदण्ड पुगेका पत्रकारले सदस्या पाउनुपर्छ । त्यो उनीहरुको अघिकार हो ।’, तालाबन्दी पछि पत्रकारहरुसँग बरालले भने, ‘पत्रकारहरुको हक अधिकार सुचिश्चित गर्न स्थापना भएको महासंघले नै उनीहरुमाथि अन्याय गरेको छ । यो अन्यायविरुद्ध जनपत्रकार संगठन नेपालले महासंघमा तालाबन्दी लगाएको हो ।’

संगठनले आफ्ना मागहरुमाथि व्यवास्था गरे आफूहरु थप संघर्षका कार्यक्रम गर्न बाध्य हुने जनाएको छ । संगठनले यसअघि विभिन्न माग राख्दै प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । तालाबन्दीमा संगठनका २५ जनाको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।