आधुनिक नेपालको राजनीतिक आन्दोलनको जग भारतको स्वतन्त्रतासँग जोडिएको छ: डा.राजन भट्टराई

आधुनिक नेपालको राजनीतिक आन्दोलनको जग भारतको स्वतन्त्रतासँग जोडिएको छ: डा.राजन भट्टराई

कपन अनलाइन
काठमाडौं,माघ १२।
नेकपा (एमाले) का नेता एवं विदेश विभाग प्रमुख डा.राजन भट्टराईले आधुनिक नेपालको राजनीतिक आन्दोलनको जग भारतको स्वतन्त्रतासँग जोडिएको बताएका छन् ।
भारतको ७५औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित ‘नेपाल–भारत सम्बन्ध ः सम्भावना र चूनौति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतको आन्दोलनको प्रभावस्वरुप नेपालमा तत्कालीन समयमा राजनीतिक परिवर्तन भएको बताए । उनले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरु विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईलगायतका थुप्रै नेताहरुले आफूलाई सहभागी गराएका समेत स्मरण गरे । भारतको आन्दोलनको प्रभावस्वरुप राजनीतिक चेतनाको विकास भएर राणा शासनबाट नेपाललाई मुक्त गराउनुपर्छ भन्ने चेतनाले तत्कालीन नेपाली नेताहरु लागिपरेका उनले बताए । उनले नेपाललाई राणा शासनबाट मुक्त गराउनमा भारतीय स्वतन्त्रता आन्दोलनको ठूलो योगदान र प्रभाव रहेको बताए ।
उनले नेपाल–भारतबीच भौगोलिक, संस्कृति र सभ्यताको हिसाबले सामिप्यता रहेको बताए । साथै, ऐतिहासिक, राजनीतिक, आर्थिक सम्बन्ध, खुल्ला सीमाबाट लगायतका हिसाबले दुई देशबीच सम्बन्ध अत्यन्त घनिष्ठ र भावनात्मक सम्बन्ध पनि राम्रो रहँदै आएको समेत उनले बताए ।
नेता भट्टराईले भारतको ७५औं गणतन्त्र दिवसको अवसरमा भारतीय जनता र भारत सरकारलाई आफू र आफ्नो पार्टी एमालेको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरे ।
अहिले नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतले ओगटेको बताउँदै उनले लगानी र नेपालको ठूला–ठूला पूर्वाधार विकासमा भारतको सहयोग रहेको स्मरण गराए । नेपालका दुई छिमेकी मुलुकहरु अहिले तीब्रतर समृद्धिको बाटोमा रहेका बताउँदै उनले दुई छिमेकी मुलुकहरुबाट नेपालले पनि सिक्न आवश्यक रहेको बताए ।
‘भारत अहिलेपनि हाम्रो झण्डै दुई तिहाइ वैदेशिक व्यापार, चाहे त्यो आयातको हिसाबले होस् वा निर्यातको हिसाबले होस् भारतनै हो । लगानीका हिसाबले भारत नेपालको पहिलो लगानीकर्ता मुलुक, अरु थुप्रै हिसाबले पनि भारत सरकारको सहयोगमा नेपालका थुप्रै पूर्वाधारका क्षेत्रहरुको विकास भएको छ । आर्थिक विकासमा भारतले सहयोग गरेको छ ।’ उनले भने, ‘छिमेक सम्पन्न हुँदा, छिमेक समृद्धिको दिशमा अगाडि बढ्दा, चाहे भारत बढोस्, चाहे चीन बढोस् । हाम्रा दुईवटा छिमेकी देशहरु उनीहरु समृद्धि र विकासको बाटोमा छन् । तीब्रतर आर्थिक विकासको प्रतिस्पर्धा गर्ने अवस्थामा उनीहरु पुगेका छन् ।’
नेता भट्टराईले नेपालले छिमेकी देशको तुलनामा विकास र समृद्धिमा किन पछि पर्यो भनेर सोच्न जरुरी रहेको बताए । उनले भारत र चीनले पहिल्याएको आर्थिक विकास र समृद्धिको बाटोलाई नेपालले.पनि अनुशरण गर्नुपर्ने आवश्यकत्ता औंल्याए । २०७४ सालको निर्वाचनपछि केपी ओली नेतृत्वको सरकारले देश र जनताको पक्षमा उल्लेख्य काम गरेको उनको दाबी छ । त्यसपछि बनेका सरकारका कारण छिमेकी मुलुक भारत, चीन, बंगलादेश, भुटान आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहँदा पनि नेपाल भने समृद्धिको दिशामा अगाडि बढ्न नसकेको बताए । अदालतले बनाइदिएको सरकार र नयाँ निर्वाचनपछि बनेको सरकारले मुलुकलाई छिमेकी मुलुकहरुले झैं संगसँगै प्रतिस्पर्धामा लान नसकेको उनको टिप्पणी छ ।
देशका समृद्धि र विकासका लागि संविधान र व्यवस्था, वातावरण, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बाधक नरहँदा पनि मुलुकले गति लिन नसकेको उनले बताए ।
नेता भट्टराईले वर्तमान सरकार अल्मलिरहेको टिप्पणी गरे । अहिलेको सरकारले मुलुकको आर्थिक अवस्था न्युनतम खर्च गर्न सक्ने क्षमतासमेत गुमाएर कर्मचारीलाई तलब खुवाउनका लागि ऋण लिनुपर्ने अवस्थामा पुगेको बताए । प्रधानमन्त्री प्रचण्डले हरेक दिन कर्मचारी जम्मा पारेर निर्देशन दिइरहँदा कुनैपनि क्षेत्रमा सुधारको गति नदेखिएको उनको भनाइ छ । उनले वर्तमान सरकार एकपछि अर्को काण्डमा मुछिएको र पूर्ण रुपमा असफल भइसकेको दाबी गरे । युवाहरु कतिबेला १२ पास गरौं र विदेश जाउँ भनेर बसिरहेको उनले बताए ।
‘सरकार एकपछि अर्को काण्डमा मुछिएको छ । चौतर्फी असफल भइरहने, मुलुक संकटग्रस्त भइरहने, आम जनता र युवामा निराशा छाउने, निराशा क्रमशः आक्रोशमा परिणत हुँदै गएको छ ।’ उनले भने, ‘कतिखेर १२ पास गरौं र म मुलुक छोडौं भनेर युवाहरु पलायनको डरलाग्दो स्थिति देखापरिरहेको छ ।’
युवाहरुलाई विदेश पठाएर र त्यहाँबाट आएको रेमिट्यान्सले देश विकास नहुने उनको भनाइ छ । यस अवस्थाको निकास खोजिनुपर्ने उनले बताए । व्यवस्था र संविधानलाई दोष दिनुभन्दा पनि सरकारको बागडोर सम्हालेकाहरुले यसको जिम्मेवारी लिनुपर्ने र निकास दिनुपर्ने उनले बताए ।
अहिले देशको आर्थिक गतिविधि शून्य अवस्थामा रहेको र लगानीका लागि कोही तयार नरहेको उनले बताए । अहिले सबैमा आतंक रहेको र भ्रष्टाचार मौलाएको उनको आरोप छ । राजनीति बिग्रिँदा ५÷१० वर्षमा सुधार्न सकिएपनि अर्थतन्त्र बिग्रेको खण्डमा सुधार्न निकै लामो मेहनत गर्नुपर्ने भन्दै उनले देशको अर्थतन्त्र जोगाउनु अहिलेको आवश्यकता भएको बताए । नेता भट्टराईले वर्तमान सरकारले गठबन्धन जोगाउने भन्दा अर्को कुनै काम गर्न नसकेको बताए ।
वर्तमान सरकार असफल भइसकेको भन्दै उनले एमाले वैकल्पिक सरकार दिन तयारी अवस्थामा रहेको समेत संकेत गरे । सरकार चौतर्फी असफल भइरहँदा प्रतिपक्षले सरकारको गुणगान गाएर नबस्ने उनको भनाइ छ ।
‘हामी प्रमुख प्रतिपक्ष हौं । प्रमुख प्रतिपक्ष वेटिङ गभर्मेन्ट हो । सरकार सफलतापूर्वक अगाडि बढेको भएपनि त हेरौं, बेनिफिट अफ डाउट दिउँ भनौं । एकपछि अर्को असफलतामा सरकार हुने अनि प्रमुख प्रतिपक्षले चाहीँ ठीक भएको छ भनेर ताली बजाइदिनु्पर्ने नठानौं,’–उनले भने ।

तपाइँको प्रतिक्रिया ।