बुद्धिचाल खेललाई ब्यावसायिक रुपमा अगाडि बढाउनु पर्छ– घिसिङ्ग
कपन अनलाइन
काठमाडौं , पुस २४।
नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको आयोजना रहेको छैटौं तुल्सीलाल स्मृति क्लब राष्ट्रिय टिम च्याम्पियनसिप राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले सेतो गोटी र बुद्धिचाल महासंघका कार्यवाहक अध्यक्ष हेराकाजि महर्जनले कालो गोटी चालेर संयुक्त रुपमा उदघाटन गरेका छन्।
ललितपुरको च्यासल स्थित तुल्सीलाल स्मृति प्रतिष्ठान हल भित्र छ दिन सञ्चालन हुने प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दै उदघाटन समारोहमा घिसिङले खेलाडी आवासको परिकल्पना गरेर हालको मन्त्री निवास हरिहर भवनमा खेलकर्मी आवास गृह बनाउन मन्त्री परिषद मार्फत सिफारिस गरिसकेको जानकारी गराएका छन्।
लिग कम नकआउट आधारमा शुरु भएको प्रतियोगितामा नेपाल भरका शिर्ष क्लबहरु डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब, ललितपुर स्पोर्ट्स क्लब, लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, सुदुर पश्चिम खेलकुद विकास परिषद , दोलखा चेस होम, दोलखा बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, पुल्चोक क्याम्पस र ललितपुर जिल्ला बुद्धिचाल संघ गरि १९ टिम सहभागि छन् ।
प्रतियोगिताका संयोजक राजु ताम्राकारका अनुसार विजेता टिमले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १०/१० हजार पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख ७० हजार रहेको छ ।
सोमबार सम्पन्न भएको पहिलो चरणको खेलमा दोलखा चेस होमले मखन चेस क्लबसंग, गोदावरी नगरपालिकाले थापथलि चेस पार्कसंग, दोलखाले मकवानपुरसंग, मध्यपुर ठिमिले लुम्बिनी इभेन्ट मानेजमेन्टसंग, ललितपुर स्पोर्ट्स क्लबले माउण्ट एभरेष्ट चेस क्लबसंग, कास्किले कोसिसंग, ललितपुर महानगरपालिकाले कान्तिपुरसंग, सुदुर पश्चिमले भक्तपुरसंग, ललितपुर जिल्ला संघले पुल्चोक चेस क्लबसंग प्रतिस्पर्धा गरेका छन्।
वोर्ड नं५ मा आयोजक ललितपुर स्पोर्ट्स क्लबका सरोज महर्जनले सन्तोष गौतमलाई, रत्न ब्यञ्जनकारले मणिराज डाँगिलाई, रिशोन थापाले अग्रिम शैंजुलाई र आयुष डेमनलाई लक्ष्य मोर माथि ४-० ले जित दर्ता गरेका छन्। यसैगरी वोर्ड नं. ८ मा पुरुषोत्तम सिल्वालले अभिषेक पान्डेलाई, स्वर्णिम दुवालले भारगव चटौटलाई, अभिषेक शाहले सुदिन कोजुलाई हराए भने राजे कक्षपति र महेश खड्का बिच बराबरी संगै भक्तपुर जिल्ला बुद्धिचाल संघले सुदुर पश्चिम प्रदेश चेस संघ ममथि ३.५-०५ ले जित निकाल्न सफल रहे। लगत्तै वोर्ड नं. ९ मा नवीन कलौनिले कृष्णमान महर्जनलाई , सुजन काफ्लेले कपिल घिमिरलाई हराए , निरञ्जन धौबञ्जार र बाबुराजा महर्जन बिच बराबरी खेल हुदा पुल्चोक चेस क्लबले ललितपुर जिल्ला संघ माथि २.५-१.५ अंकले जित निकालेका छन्।
आजको नतिजामा आयोजक ललितपुर स्पोर्ट्स क्लब , भक्तपुर जिल्ला बुद्धिचाल संघ, पुल्चोक चेस क्लब, कोसि प्रदेश चेस क्लब, दोलखा जिल्ला संघ, गोदावरी नगरपालिकाले २/२ अंक हासिल गरि अग्रस्थानमा रहन सफल बनेका छन्।