बुढानिलकण्ठवासीलाई खुसीको खबर : नगरपालिकामा निः शुल्क भिडियो एक्स-रे सेवा शुरु
कपन अनलाइन
काठमाडौं , पुस १९।
बुढानीलकण्ठ नगरपालिकामा निः शुल्क भिडियो एक्स-रे सेवा सञ्चाालनमा आएको छ ।नगरपालिकाको वडा नं ३ मा अवस्थित बुढानीलकण्ठ स्वास्थ्य चौकीमा आजबाट भिडियो एक्स–रे सेवा सुरू गरिएको हो ।
उक्त क्षेत्रमा पर्ने वडा नं ०१, ०३, ०२, ०४ लगायत अन्य वडाका स्थायी लगायत अस्थायी बसोबास गर्ने सबैले यहाँबाट भिडियो एक्स–रे को सेवा लिन सक्नेछन् ।
बिहिबार एक कार्यक्रम मार्फत नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले संयुक्त रुपमा एक्स-रे मेसिन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन ।
स्थानीयस्तरमै भिडियो एक्सरे सञ्चालनमा आएपछि विशेषगरी गर्भवती महिलालाई सहज हुने नगर प्रमुख मिठाराम अधिकारीले जानकारी दिएका छन ।
स्वास्थ्य संस्थामा भिडियो एक्सरे जस्ता अत्याधुनिक उपकरणको व्यवस्थापन भएपछि गर्भवती महिलालाई सहज हुनुका सार्थ मातृ मृत्युदर शुन्यमा ल्याउने अपेक्षा गरिएको नगर वरिष्ठ जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दहालले जानकारी दिए । उद्घाटनकै दिन ९ जना महिलालाई सेवा प्रदान गरिएको उनले बताए ।
भिडियो एक्स-रे का लागि प्रत्यक बिहिबार र शुक्रबार विज्ञ रेडियोलोजिस्ट डा. सुरज शर्माले सेवा दिनेछन् । समय र तालिका भने स्वास्थ्य चौकीले छिटै निर्धारण गरी जानकारी गराउने प्रकृयामा रहेको छ ।
आज भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख, उपप्रमुख सहित वडा नं ३ का अध्यक्ष आकाश धिताल, वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, नगर अस्पताल विज्ञ परामर्श समिति संयोजक डा. भगवान कोेईराला, नगर प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, रेडियोलोजिष्ट डा. सुरज शर्मा, मिना पुन, वरिष्ठ जनस्वास्थ्य कुमार प्रसाद दाहाल, जनस्वास्थ्य अधिकृत जिवन खतिवडा, परिवार नियोजन निरिक्षक उमेश गौतम लगायत स्वास्थ्यकर्मी तथा स्थानीयको उपस्थिति रहेको थियो ।