जीवन परक चार मुक्तक : नवशिला

जीवन परक चार मुक्तक : नवशिला

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ३०।

किन भन्नु हुन्छ तपाई मेरो सारा आधार सकियो
सुनाएर यो स्वार्थी दुनियाँलाई बारम्बार सकियो
अगाडी कठै भन्छ मान्छे पछाडी थपडी बजाउँछ,
खुसी बन्नुस बाँचुन्जेल नभन्नुस् यो संसार सकियो।।१।।

राम रमिता हो देखिएको त सपनाको घर जस्तै
भाँडाकुटी खेलहो यो केटाकेटीको रहर जस्तै
कतिबेला सुटुक्क जान्छ प्राँण छोडेर शरिरलाई,
बाँचुन्जेली छाहारी बनौं पिपलअनि बर जस्तै।।२।।

जिन्दगी भनेको हाटबजार हो यति बुझ्नुस पुग्छ
गुन्द्री माथी गरिने व्यहपार हो यति बुझ्नुस पुग्छ
सम्झौतागरि अरुकै निम्ती रमाईदिनु पर्छ यहाँ,
जीवनको पर्याय कारागार हो यति बुझ्नुस पुग्छ।।३।।

जिन्दगीअलिकति खुद्रा अलिकति थोक रहेछ
मृत्यु बिनानै बारम्बार भोगिरहनुपर्ने शोक रहेछ
आएन कहिलै पनिहाँसो खुसी यो अभागीलाई,
जीवन त अभाव पिडा दुखबेदना र भोक रहेछ।।४।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।