चन्द्रबिनायक तथा भैरवनाथ जात्राको अवलोकनमा काठमाण्डौ महानगर प्रमुख बालेन्द्र शाह

चन्द्रबिनायक तथा भैरवनाथ जात्राको अवलोकनमा काठमाण्डौ महानगर प्रमुख बालेन्द्र शाह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चन्द्रबिनायक तथा भैरवनाथ जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन भ्रमण गरेका छन  । जात्राको पहिलो दिन उनले चारुमती बिहार, गणेशस्थान, कुटुबहाललगायत क्षेत्रका बारेमा जानकारी लिएका थिए  ।

प्रमुख शाहलाई  वडा ७ का अध्यक्ष बिमल होडा, वडा नं. ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगतले जात्रासँग सम्बन्धित ठाउँ, संस्कार, संस्कृति र सामाजिक जीवनका बारेमा जानकारी गराएका थिए  ।

जात्राको पहिलो दिन गुठीयार पूर्ण संगतको घरबाट भैरवको र सानुकाजी शाक्यको घरबाट गणेशको मूर्ति गणेशस्थान परिसरमा ल्याएर गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइयो । यसका लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ ।
यसरी जगाइएको धुनी तापे चिसो नलाग्ने, चिसो लागिसकेको भए यसको असर हराउने, घुँडा दुख्ने, सरीर दुख्ने समस्या समाधान हुने जनविश्वाश छ ।
जात्रासँग सम्बन्धित ठाउँ काठमाडौं उपत्यकाका चार विनायकमध्येको एक हो । महानगरपालिका वडा नं. ७ गणेशस्थानमा रहेको मन्दिरभित्र चिवहा अर्थात् स्तुप पनि छ । धार्मिक तथा जातीय रुपमा व्यक्ति व्यक्तिबिचमा सम्बन्ध टाढिँदै गइरहेको बर्तमान सन्दर्भमा धार्मिक सहअस्तित्वको सन्देश दिने यो संरचना पाँचो शताव्दीदेखि १८ औं शताव्दीबिचमा निर्माण भएको देखिन्छ ।
मन्दिरभित्रको चिवहा अर्थात् स्तुप, बुद्ध मूर्ति र कुमारी लिच्छवीकालीन संरचना हुन् । पाँचो शताव्दीमा निर्माण भएका यी संरचनापछि चन्द्रविनायकको मूर्ति नवौ शताव्दीमा निर्माण भएको देखिन्छ । यी मूर्तिहरुको संरक्षणकालागि अठारौँ शताव्दीमा आएर मल्लकालीन राजा अमर मल्लले वि. सं. १५८६ देखि १६१९ का बिचमा मन्दिर निर्माण गर्न लगाएको देखिन्छ ।
बौद्ध धर्माबलम्बी र हिन्दू धर्मावलम्बीहरुको साझा आस्थाको तीर्थ चन्द्रविनायकभित्र भएका मूर्तिहरु जे भए पनि यसलाई गणेश स्थान भनेर जनसाधारणले चिन्ने गरेका छन् । यसलाईं चन्द्र विनायक, श्वेत विनायक, रक्त विनायक, चावहिल गणेश विभिन्न नामले चिनिन्छ । नेपाल भाषीहरु यसलाई ल्होंसाः गणेद्यः भनेर चिन्दछन् । यो गणेश चावहिल क्षेत्रको चारुमती महाविहार तथा भन्दो चैत्य नजिक रहेको छ । यी सबै स्थान पाशुपत क्षेत्रमा समेटिन्छन् ।
मन्दिर परिसरमा नाग आसनमा बसेका चन्द्रविनायकका अतिरिक्त, नेपाली धार्मिक आस्था तथा विश्वाश बोकेका धेरै देवी देवताका मूर्तिहरु छन् । एकै ठाउँमा क्षेत्रपाल, दक्षिणकाली, पञ्चबुद्ध, सरस्वती, नारायण, कुमारी, भैरव, शिव, राधाकृष्णलगायतका देवी देवताका प्रस्तर मूर्ति भएकाकारण श्रद्धालुहरुले एउटै पूजा तथा दर्शनबाट अधिक पुण्य लाभ गरेको महसुस गर्ने गरेका छन् ।
यहाँका गणेशलाई समय अनुसार पहिरन लगाइ दिने चलन छ । अन्य सामान्य दिनमा प्रस्तर रुपमा हुने गणेशलाई मंगलबार पित्तलको कलेबर र शनिबार चाँदीको मुखौटा लगाइ दिने चलन छ । जात्राको बेला तामाको कलेवर लगाइ दिइन्छ भने क्षमा पूजाको बेला अलग्गै पित्तलको कलेबर लगाइ दिने चलन छ ।
कार्यसिद्धिकालागि पुकार वा आराधना गरिने गणेश मन्दिरमा मंगलबार श्रद्धालुहरुको भीड हुने गरेको छ भने, माघ महिनाको मंगलबार भने विशेष आस्थासहित श्रद्धालुहरु आउने गर्छन् ।फोटो सौजन्य : मेट्रो न्युज
तपाइँको प्रतिक्रिया ।