‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ हुने

बागमती प्रदेशको राजधानी हेटौंडामा मंसिर १३ गते बुधबारबाट ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ ।
मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता मंसिर १७ गतेसम्म चल्ने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी १२० जना खेलाडीले सहभागिता जनाउनेछन् । अध्यक्ष श्रेष्ठले अहिलेसम्म १०१ जना खेलाडीले नाम दर्ता गराइसकेको जानकारी दिए । स्विस नियमअनुसार नौ राउन्डमा हुने प्रतियोगितामा सहभागीताका लागी प्रत्येक खेलाडीले दश हजार तिरेर रजिष्ट्रेशन गर्नुपर्ने छ।
प्रतियोगितामा सहभागी खेलाडीहरुका लागी खाने र बस्नेको सुविधा भने आयोजकले व्यहोर्ने बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम लामाले जानकारी दिए । प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ४० हजार रुपैयाँ हात पाउँने छन् ।
यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ जित्नेछन् । यस्तै छैठौंदेखि दशौं स्थानसम्मका प्रत्येक प्रतियोगिले नगद १५ हजार, एघारौदेखि पन्ध्रौसम्मले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् भने प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय लगाएत विभिन्न विद्यामा ३८ जनाले नगदसहित पुरस्कार प्राप्त गर्ने महासचिव लामाले जानकारी दिए ।प्रतियोगिता आयोजनाका लागि ६१ लाख १२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष श्रेष्ठले बताए ।
तपाइँको प्रतिक्रिया ।