प्रदीप र अभिलाषा च्याम्पियन

प्रदीप र अभिलाषा च्याम्पियन

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २६।
प्रदीप खड्का र अभिलाषा विष्टले तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । पुरुषमा प्रदीप र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा प्रदीपले ऋतिक राणालाई ७–५, ४–६ र ६–३ को सेटमा पराजित गरे ।
महिलाको उपाधि भिडन्तमा अभिलाषाले प्रकृति श्रेष्ठलाई ६–० र ६–० ले सहजै हराइन् । पुरुष/महिला दुवैमा पहिलो हुनेले १ लाख तथा दोश्रोले ५० हजारका दरले नगद पुरस्कार हात पारे ।
प्रदीप र अभिलाषाले प्रतियोगितामा दोहोरो स्वर्ण जिते । दुवैले डबल्समा पनि स्वर्ण जिते । प्रदीपले निहालजंगबहादुर थापा तथा अभिलाषाले माहिका राणासंग मिलेर स्वर्ण हात पारेका हुन् ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व सिंगल्स राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार पहिलो भए । उनले फाइनलमा कमलबहादुर भण्डारीको चुनौती ६–२, १–६ र १०–८ ले पन्छाए । जितेन्द्रले ५० हजार तथा कमलले २५ हजार नगद पुरस्कार पाए ।
वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिता सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि भेट्रान ३५ वर्षमाथि पुरुष डबलसमा सुभाष बस्नेत र सन्तोष खत्री, ४५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठ, ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र यज्ञबहादुर भण्डारी, ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ, ५५ वर्षमाथि पुरुष डबल्समा सुदर्शन विष्ट र जीवन घिमिरे तथा ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो भए ।
जुनियरमा शिभाली गुरुङ, विश्वविशेष डल्लाकोटी, सरा पन्त र वृजेश अर्यालले पनि दोहोरे स्वर्ण जित्न सफल भए । शिभालीले यु–१२ र यु–१४ गल्र्स सिंगल्समा स्वर्ण जितिन् । विश्वले यु–१० र यु–१२ ब्वाइज सिंगल्सको फाइनलमा बाजी मारे । सरा यु–९ र यु–१० गल्र्स सिंगल्समा अब्बल बनिन् । यु–१४ ब्वाइज सिंगल्समा स्वर्ण जितेका वृजेशले डबल्समा साश्वत वज्राचार्यसंग मिलेर पहिलो बने ।
त्यस्तै यु–८ सिंगल्सको ब्वाइजमा भिरल अग्रवाल र गल्र्समा निम्ति कुँवर, यु–९ ब्वाइज सिंगल्समा निश्चल ज्ञवाली तथा गल्र्स डबल्समा स्वस्तिका विष्ट र मेरिशा थापाले शीर्ष स्थान हात पारे ।
विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, प्रतियोगिता संयोजक भाष्करमान सिंह, नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, तार्केश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जन, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुल, आयोजक कमिटीका अध्यक्ष सन्जिव तुलाधरलगायतले एक कार्यक्रमबीच पुरसकार वितरण गरे ।
आठदिने प्रतियोगितामा करिब २ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जुनियरमा बाहेक सबै स्पर्धमा नगद पुरस्कारको व्यवस्था थियो । जम्मा ९ लाख ४ हजार ३ सय ७५ रुपैयाँ नगद पुरस्कार वितरण गरियो । जुनियरका पदक विजेतालाई भने गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
तपाइँको प्रतिक्रिया ।