सम्पदा संरक्षणमा श्री बौद्ध नाथ क्षेत्र विकास समिति: तीन कुवा संरक्षण तथा पुनःनिर्माण कार्य सम्पन्न

सम्पदा संरक्षणमा श्री बौद्ध नाथ क्षेत्र विकास समिति: तीन कुवा संरक्षण तथा पुनःनिर्माण कार्य सम्पन्न

कपन अनलाइन

काठमाडौँ, भाद्र १३ ।

काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध कुवा टोलमा रहेको तीन कुवा संरक्षण तथा पुनःनिर्माण कार्य सम्पन्न भए संगै उद्घाटन गरिएको छ । श्री बौद्ध नाथ क्षेत्र विकास समिति द्वारा संरक्षण तथा पुनःनिर्माण गरिएको उक्त तीन वटा कुवाको आज एक कार्यक्रमका बीच प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले उद्घाटन गरेका हुन ।

बढ्दो शहरीकरण तथा भू माफियाको कारण प्राचिन कुवा,धारा, पँधेरा,पाटी पौवा मासिदै गएको अवस्थामा वातावण तथा सांस्कृति जोगाउने उदेश्य सहित श्री बौद्ध नाथ क्षेत्र विकास समितिले क्षेत्र भित्र रहेका ऐतिहासिक कुवा, धारा लगायत प्राचिन सांस्कृतिक धार्मिक र पुरातात्विक महत्व बोकेका सम्पदालाइ पुननिर्माण तथा संरक्षण गर्ने अभियाननै थालेको छ ।

समाजसेवी मोहन ब्लोनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्ती माया तामाङ, श्री बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व कार्यकारी निर्देशक आचार्य नुर्बु शेर्पा, सोनाम लामा श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, रग्वा शेर्पा, पशुपतिनाथ (श्याम) खतिवडा, ओम तामाङ सुख दुःख सेवा गुठीका अध्यक्ष सुरज रुम्बा, श्री टुसाल युवा क्लबका अध्यक्ष विजय लामा, नेपाली कांग्रेस का.म.न. पा वडा नं ६ इकाई सभापति बिबेक लामा, समाजसेवी सुरेन्द्र तामाङ सुजन,कराते बौद्ध डोजोका ज्ञान बहादुर मोक्तान, श्री बौद्ध नाथ क्षेत्र विकास समितिका इन्जीनियर रमेश धिमाल पत्रकार मायालु दोङ तामाङ लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रममा श्री बौद्ध नाथ क्षेत्र विकास समितिको सदस्य जानुका भण्डारी श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन । सम्पदाहरू मावन समाजको साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले पुर्खाले छोडेर गएका सम्पदारूपी नासोलाई संरक्षण गरी भावी सन्ततीलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिदै श्री बौद्धनाथ क्षेत्र विकास समितिले त्यस्ता सम्पदाहरुको संरक्षणमा कार्य गर्दै आएको र सोहि अनुरुप इतिहासमा पहिलो पटक एकै पटक तीन वटा कुवाको पुननिर्माण पश्चात उद्घाटन गरिएको बताइन । करिब १६ लाख रुपैयाको लागतमा पुनःनिर्माण गरिएको उक्त तीन वटा कुवा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि श्री बौद्ध नाथ क्षेत्र विकास समितिको अध्यक्ष राजकुमार लामाले छ्योमे बाल्नुको साथै तीन वटा कुवाको शिलालेख अनावरण गरि उद्घाटन गरेका थिए।

उक्त कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व कार्यकारी निर्देशक आचार्य नुर्बु शेर्पाले मोलम समेत पाठ गरेका थिए । कार्यक्रममा ओम तामाङ सुख दुःख सेवा गुठीका अध्यक्ष सुरज रुम्बा, श्री टुसाल युवा क्लबका अध्यक्ष विजय लामा लगायतले शुभकामना मन्तब्य राख्दै धार्मिक तथा वातावरणीय महत्वसमेत रहेका धारा र कुवाँको संरक्षणमा श्री बौद्धनाथ क्षेत्र विकास समितीले गरेको कार्यको प्रसंशा गरेका थिए ।उनीहरुले अझै पनि क्षेत्रमा संरक्षणको पर्खाइमा रहेका त्यस्ता सम्पदाको पुननिर्माण तथा संरक्षण गर्न आवश्यक रहेको त्यसमा समाजको पनि साथ आवश्यक रहेको बताएका थिए ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले श्री बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ महाचैत्यको संरक्षण गर्नुको साथै क्षेत्रमा पर्ने धार्मिक संस्कृतिक सम्पदा संरक्षण र क्षेत्रको विकास निर्माणमा समेत सहयोगी भूमिका खेल्दै आईरहेको बताएका थिए।

नेपालको पर्यटन विकास र पहिचानको लागि सम्पदाको संरक्षण आवश्यक रहेको बताए। उनले केही बर्ष अघिसम्म बाटोको छेउछाउमा प्रशस्त धारा र कुवाँ हुने भएपनि संरक्षणको अभाव, बढ्दो शहरीकरण र भू माफियाको कारण त्यस्ता सम्पदा मासिएकोको चिन्ता ब्यक्त गर्दै भएका सम्पदा संरक्षणमा क्षेत्र विकास समितिले पहल कदमी गर्दै आएको बताए। श्री बौद्ध नाथ क्षेत्र विकास समितिले महांकाल स्थित ऐतिहासिक चारधारा ( कुवा) पुन:निर्माण गरेको अमिताभ मार्गमा रहेको एतिहासिक महारानी कुवा संरक्षणको कार्य अघि बढाएको समेत स्मरण गरेका थिए ।

उनले क्षेत्रमा भएका कुवा, सम्पदाहरुको अभिलेख राख्ने कार्य क्षेत्र विकास समितिले शुरु गरेको जानकारी दिदै चाडै नै आन्तरिक तथा बाह्य पर्यटकहरुले समेत त्यस्ता सम्पदाहरुको बारेमा जानकारी लिन सजिलो होस भनेर बार कोड सिस्टम लगायतका प्रचारका कार्य अघि बढाउन लागेको र त्यसको लागि बिज्ञ संग परामर्श गरिरहेको जानकारी गराए । मानिसलाई प्यास मेटाउन मात्रै नभई पशुपन्छी, जङ्गली जनावर तिर्खा मेटाउन र हरियाली बढाउन पनि यस्ता कुवा धाराको संरक्षण गरिनुपर्नेमा उनको जोड रहेको थियो । अध्यक्षताको आसन बाट बोल्दै समाजसेवी मोहन ब्लोनले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।