कपन बहुमुखी क्याम्पस नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी…..
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ४।
कपन बहुमुखी क्याम्पसको व्यवस्थापन र संचालनको जिम्मेवारी बुढानिलकण्ठ नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरिएको छ। भाद्र २ गते सनिवार विशेष सभाको आयोजना गर्दै कपन बहुमुखी क्याम्पसले नगरपालिकालाई अनुरोध गरेको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कपन बहुमुखी क्याम्पसलाई प्राविधिक र प्राज्ञिक विस्तार गर्दै नमुना शिक्षालय बनाउने नगर सभाको निर्णयको स्वागत गर्दै सो विशेष सभाले हस्तान्तरणका लागि अनुरोध गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
हाल व्यवस्थापन र शिक्षा संकायका कक्षाहरु संचालन गर्दै आएको सो क्याम्पस नगरपालिकालाई हस्तान्तरण भए संगै क्याम्पस सभा (CENATE) ,संचालक समिति गठन सहित व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नगरपालिकाको हुने क्याम्पस श्रोतले जानकारी दिएको छ।
बुढानिलकण्ठ नगरपालिकाको १२ औ नगर सभाले कपन बहुमुखी क्याम्पसलाई नमुना शैक्षिक संस्थाका रुपमा विकास गर्ने योजना पारित गरको थियो।
क्याम्पसको विशेष सभामा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख अनिता लामाले सबै नगरवासीलाई स्नातक बनाउने नगरको अभियानलाई सफल बनाउने प्रमुख थलो कपन बहुमुखी क्याम्पस बन्ने विस्वास व्यक्त गर्दै सहयोगको प्रतिवद्दता समेत व्यक्त गरेकी थिइन्।
संचालक समितीका अध्यक्ष कुमार प्रसाद ओझाको अध्यक्षतामा भएको विशेष सभाले क्याम्पसको सम्पूर्ण पूर्वाधार, सम्पत्ति र दायित्व हस्तान्तरण पश्चात नगरपालिकाको हुने प्रस्ताव गरेको छ।
तपाइँको प्रतिक्रिया ।