प्रधानमन्त्री ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,साउन ८ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई आइतबार प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ पर्नेमा काठमाडौँको नागर्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाख खनाल रहेका छन् ।

उनीहरुले प्रधानमन्त्रीको सल्लाहकार भएको र प्रमुख नेताहरुसँग चिनजान रहेकाले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने भनी झुटा आश्वासन दिएर ठगी गरेका खुल्न आएको छ ।

पीडितहरुलाई विभिन्न कागजातमा सहीछाप गराई उनीहरुले रु ४५ लाख बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

यसरी रकम ठगी गरी उनीहरुले पीडितको ना४च ८६७० नंको स्कारपियो गाडीसमेत लिएर फरार भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन  ।

उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय दमक, झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत भद्रपुर झापाबाट पक्राउ पुर्जी जारी भएकाले जिल्ला प्रहरीको अनुरोधमा आरोपीहरुलाई आइतबार पक्राउ गरिएको उनले बताए ।

उनीहरुलाई थप कारबाहीका लागि आइतबारै इलाका प्रहरी कार्यालय दमक, झापा पठाइएको छ ।

तपाइँको प्रतिक्रिया ।