मोटरसाइकल चोर्ने दुई युवा कलङ्कीबाट पक्राउ

मोटरसाइकल चोर्ने दुई युवा कलङ्कीबाट पक्राउ

कपन अनलाइन
काठमाडौं, असार ३०।

काठमाडौँमा मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको कलङ्कीबाट शुक्रवार मकवानपुरको बागमती गाउँपालिका ३ घर भई हाल काठमाडौँको स्वयम्भू ठुलो भर्‍याङ बस्ने २२ वर्षीय अमृत पाख्रिन तामाङ र बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ घर भई ठुलोभर्‍याङनै बस्ने २५ वर्षीय बुद्ध बहादुर वाइबालाई प्रहरीले पक्राउ गरेको हो ।

चोरी भएका मोटरसाइकल खोजतलासको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट खटिएको टोलीले शङ्कास्पद अवस्थामा च्यासिस र इन्जिनको भाग कोरिएको ना ३२ प ६६ ६३ नम्बरको मोटरसाइकल सहित अमृत पाख्रिन तामाङलाई नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाइकलको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा बुद्ध बहादुर वाइबाबाट लिएको भन्ने खुलेपछि वाइबालाई बा ९१ प १८ ०४ नम्बरको मोटरसाइकल सहित दुवै जनालाई पक्राउ गरेको जनाएको छ ।

बा ९१ प १८ ०४ नम्बरको मोटरसाइकल काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा चोरीमा प्रयोग भएको खुल्न आएको छ । महोत्तरीको जलेश्वर नगरपालिका २ घर भई हाल ललितपुरको ग्वार्को बस्ने निकेश कुमार साहले ग्वार्को स्थित पार्किङ स्थलबाट प्रदेश ३ ०२ ००२ प ८९ ७७ नम्बरको मोटरसाइकल गएको बुधवार चोरी भएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

उक्त मोटरसाइकलको चोरीमा पनि उनीहरूकै संलग्न रहेको खुल्न आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन  ।नियन्त्रणमा आएका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

तपाइँको प्रतिक्रिया ।