प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

कपन अनलाइन 

काठमाडौँ, असार २७।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयघात भएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो ।

माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार सीता वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।

 

तपाइँको प्रतिक्रिया ।