स्व. प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियगिता मन्दिरा, निशा, चन्द्र, विमल लगायत सेमिफाइनल प्रवेश
कपन अनलाइन
काठमाण्डौ ,असार १९ ।
नक्सालकी मन्दिरा पौडेलले नुवाकोटकी संगीता राणालाई हराउंदै स्व. प्रकाश दाहाल स्मृति तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियगिताको महिलातर्फ ४८ केजीमा सोमबार सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
बुढानीलकण्ठ स्थित नेसनल युनाइटेड स्कुलको प्रांगणमा भइरहेको प्रतियोगितामा ५४ केजीमा प्रहरीकी निशा तामाङले नुवाकोटकी रक्षा जिसीलाई, ५७ केजीमा एपीएफकी माला राइले आर्मीकी कमला खड्कालाई तथा एपीएफकी शर्मिला तामांगले कर्णालीकी हेरिन ऐरलाई हराउंदै सेमिफाइनलमा स्थान बनाएका छन् ।
यसैगरी, नेपाल प्रहरीका चन्द्रबहादुर थापा, नेपाल आर्मीका विमल घर्ती मगर, पाटनका चिरञ्जीवी खड्का र च्याम्पियनका प्रदीप महर्जन पुरुषतर्फ ५१ केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगितामा चन्द्रले दाङका भरत पुनमगरलाई हराए भने विमलले ललितपुरका उमंग खत्रीमाथि जित निकाले । चिरञ्जीवीले च्याम्पियनका अजय पुनमगरलाई पाखा लगाए । प्रदीपले सोनाम लामालाई पराजित गरे ।
पुरुषतर्फ ५७ केजीमा एपिएफका पुरन राईले कञ्चनपुरका महेशसिंह खत्रीलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ६० केजीमा मौसमले प्रहरीका सुजन पौडेललाई निराश पारेका छन् । एपिएफका विक्रम परियारले नुवाकोटका विकास गुरुङमाथि जित निकालेका छन् । आर्मीका इन्द्रबहादुर सुनुवारले बक्समान्डुका आयुष थापालाई पाखा लगाएका छन् । एक्सबक्सका निश्चल गुरुङले स्विटका मार्सल गुरुङलाई निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरेका छन् । पुरुष ६७ केजीमा एपिएफका विक्रम चौधरीले अन्साका विशाल दाहाललाई पन्छाउँदै अन्तिम चारको स्थान पक्का पारे ।
यसैगरी, पुरुष ७१ केजीमा एक्सबक्सका निशान गुरुङले एपिएफका सुमन कार्कीमाथि जित निकाले । आर्मीका दानबहादुर दर्लामीले कैलालीका भरत चन्दलाई सहज स्कोरमा पाखा लगाए । प्रहरीका मिलन तामाङले ललितपुरका कुशल कुमालमाथि जित निकाली सेमिफाइनलमा पुगे । पुरुष ७५ केजीमा एचटुओका विनिश राईले नक्सालका अश्विन धीरन श्रेष्ठलाई हराए । पाटनका जेम्स महर्जनले तेन्जी शेर्पालाई पराजित गरेका छन् ।
देशभरका खेलप्रेमी दर्शक तथा स्थानीयहरूको अत्यन्त बाक्लो उपस्थितिमा संचालन भैरहेको बक्सिङ प्रतियोगिता यही २० गतेसम्म चल्नेछ ।