बुढानिलकण्ठको उच्च प्राथमिकतामा शिक्षा क्षेत्र : २०८०।०८१ लाई शैक्षिक उन्नयन वर्ष घोषणा
कपन अनलाइन
काठमाण्डौ ,असार ११।
बुढानिलकण्ठ नगरपालिकाले आ.व. २०८०।०८१ लाई शैक्षिक उन्नयन वर्षको रूपमा घोषणा गरेको छ।
बुढानीलकण्ठ नगरपालिका नगर सभा १२ औं नगर अधिवेशनको बैठकबाट आर्थिक वर्ष २०८०\८१ लाई शैक्षिक उन्नयन वर्षको रूपमा घोषणा गरिएको हो।
नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा अधिवेशनको असार ०७ गते बसेको पहिलो वैठकमा प्रस्तुत भएको आर्थिक विधेयक र विनियोजन विधेयक असार १० गते को तेस्रो बैठकबाट वृहत छलफल, समिक्षा र सुझाव संकलन पश्चात नगर सभा सदस्यहरुद्वारा पारित भएको हो ।
शिक्षा क्षेत्र :
यस आ.व. २०८०।०८१ लाई शैक्षिक उन्नयन वर्षको रूपमा घोषणा गरिएको छ । उच्च सांस्कृतिक मूल्यसहितको जीवनोपयोगी शिक्षा हाम्रो मूल लक्ष्य हो । ‘बुढानीलकण्ठ नगरपालिकाका सबै नागरिकहरु स्नातक’ हुनेछन् ।
* गरिखाने शिक्षा हाम्रो संकल्प हो, कक्षा ६ देखि शिक्षासँग सिप कार्यक्रम लागू गरी विद्यालय ब्राण्डिङ्ग गरिनेछ । नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुलाई विभिन्न विषयमा विशिष्टिकृत विषयको अध्ययनकेन्द्रका रुपमा संस्थागत गर्दै लगिनेछ ।
* बालकुमारी माध्यमिक विद्यालय र श्रीराम आधारभूत विद्यालयलाई नमूना विद्यालयको रुपमा बिकसित गरिनेछ ।
* सामुदायिक बिद्यालयहरुमा सिप, कौशल तथा क्रियाकलापमा आधारित नयाँ पाठ्यक्रम निर्माण गरि लागू गरिनेछ । विद्यार्थी मूल्याङ्कनमा अतिरिक्त क्रियाकलापसहितको प्रयोगात्मक अभ्यास र सिपमूलक कक्षाको प्रस्तुतिलाई अभिन्न अङ्ग बनाईनेछ ।
* सामुदायिक र नीजि विद्यालय साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ ।
* सबै विद्यालयको हरेक वर्ष वर्गीकरण गरी प्राप्ताङ्कको आधारमा प्रमाणपत्र दिई सोही अनुसारको सुविधा तथा सुधारका कार्यक्रमहरु तय गरिनेछ ।
*सामुदायिक विद्यालयहरुलाई बहुभाषामैत्री बनाईनेछ ।
* प्रत्येक बर्ष शिक्षकको शिक्षणस्तर परिक्षण योग्यता परीक्षा सञ्चालन गरिनेछ । न्यूनतम अंक प्राप्त गर्न नसक्ने शिक्षकलाई सघन शिक्षक पेशागत विकास कार्यक्रममा सहभागी गराईनेछ ।
* सामुदायिक विद्यालयमा प्रधानाध्यापक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिनेछ । यसरी नियुक्त प्रधानाध्यापकको परीक्षणकाल ६ महिना रहनेछ । हरेक ३ वर्षमा प्रधानाध्यापकको पूनः आन्तरिक परीक्षण गरिनेछ ।
*सबै विद्यालयमा पठन संस्कृति विकास अभियान संचालन गरिनेछ ।
*अभिभावक विहिन, बेसहारा र विपन्न विद्यार्थीकोे विद्यालय तहको शिक्षाको सुनिश्चितता गरिनेछ । कोहीपनि विद्यालय जान नपाउने, नसक्ने अवस्थाको सृजना हुन दिईनेछैन ।
* प्रत्येक विद्यार्थी/विद्यालयको न्यूनतम ६० प्रतिशत सिकाई उपलब्धी हासिल गरेको हुनुपर्नेछ । पठनपाठनमा समस्या समाधानमूलक शैक्षणिक उपागम लागू गरिनेछ ।
* नगरपालिकामा वाचनालय सहितको बालबालिका केन्द्रित र वयस्क नागरिक केन्द्रित पुस्तकालय स्थापना गरिनेछ ।
* सबै विद्यालयमा अनिवार्य लाइब्रेरी नीति अवलम्बन गरिनेछ । सामुदायिक सिकाई केन्द्रको नेतृत्वमा सार्वजनिक स्थानमा वाचनालय सहितको पुस्तकालय स्थापना गरिनेछ ।
ज्* जेहेन्दार र विपन्न विद्यार्थीलाई कृषि, पशु चिकित्सक, पाइलट, इञ्जिनियर, चिकित्सक लगायतका प्राविधिक उच्च शिक्षामा २५ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिनेछ ।
* निरक्षर तथा विद्यालय अध्ययन पूरा गर्न नसकेका व्यक्तिहरु लक्षित विशेष विद्यालय सञ्चालन गरिनेछ ।
* सबै विद्यालयमा स्तरीकृत र एकीकृत पाठ्यक्रम तथा परीक्षाप्रणाली लागू गरिनेछ ।
* सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा तथा संस्थागत विद्यालयमा मापदण्डमा आधारित एकरुपता शुल्क नीति अवलम्बन गरिनेछ । संस्थागत विद्यालयको छात्रवृत्ति बितरण, आन्तरिक एवं आर्थिक पारदर्शीतामा जोड दिइनेछ ।
* सबै विद्यालयमा स्काउट स्थापना गरिनेछ । सबै विद्यालयमा नर्सको व्यवस्थापन गरिनेछ ।
* प्रारम्भिक वाल विकास र शिक्षालाई वालवालिकाको सर्वागिंण विकासको आधारको रुपमा विकास गरिनेछ । प्रारम्भिक बाल विकास (मन्टेस्वरी) को विद्यालय स्थापना, सञ्चालनको कार्यविधि तथा पाठ्यक्रम निर्माण गरिनेछ ।
* प्रत्येक विद्यालयमा न्यूनतम् सक्षमताको अवस्था (कक्षाकोठा, पिउने पानी, शौचालय, पुस्तकालय, क्यान्टिन, प्रयोगशाला र सूचना प्रविधि) सुनिश्चितता गरिनेछ ।
* विद्यार्थीको घर–परिवारसम्म शिक्षण सिकाइको लागि न्यूनतम् शैक्षिक वातावरण विकास गर्न नगरपालिका–विद्यालय र घरपरिवार साझेदारी गरिनेछ ।
* शिक्षक सक्षमता प्रणालीको विकासमा सबै शिक्षकलाई सूचना प्रविधि सम्बन्धी प्रायोगिक सीपको विकास सुनिश्चित गरिनेछ ।
* न्यूनतम् शैक्षिक भौतिक पूर्वाधार नभएका विद्यालयहरुलाई मर्जर (संस्थागत–संस्थागत र सामुदायिक–संस्थागत) मा जान प्रोत्साहित गर्ने नीति लिईनेछ । विद्यालयहरुलाई राइटसाइजिङ र डाउनसाइजिङ गरी स्मार्ट स्कूलमा रुपान्तरण गरिनेछ ।
* “छोरीलाई स्यानेटरी, आमालाई सीप र स्वरोजगारी” कार्यक्रम सञ्चालन गरिनेछ ।
* विद्यालयलाई सामाजिक विभेद (छुवाछुत, दुव्र्यवहार, हिंसा, लैगिंक विभेद) विरुद्ध परिचालन गरिनेछ ।
* ब्रिटिस काउन्सिल तथा अन्य अन्तराष्ट्रिय तथा राष्ट्रिय र स्थानीय प्राज्ञिक संस्थाहरुसँगको सहकार्य र साझेदारीमा ग्लोबल स्कूल प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
* न्यूनतम् शिक्षक दरबन्दी नभएका विद्यालयहरुमा शिक्षक बैंक तथा शिक्षण अनुदानमार्फत अंग्रेजी, विज्ञान, गणित लगायत अतिरिक्त विषयका शिक्षकहरुको व्यवस्थापन गरिनेछ ।
* विद्यालयस्तरमा विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरु सञ्चालन गरी खेलकुदको प्रर्वद्धन गरिनेछ ।
* बुढानीलकण्ठ प्राविधिक शिक्षालय स्थापना गरिनेछ ।
* अपांगता भएका, कुष्ठरोग संक्रमित, एसिडपीडित, एच.आइ.भि.सङ्क्रमित तथा दीर्घ रोगले ग्रसित र विशेष शिक्षा दिनुपर्ने आवश्यकता भएकाहरूका लागि बैकल्पिक शिक्षाको उचित व्यवस्था गरिनेछ ।
* विद्यालयमा बालसंरक्षण मापदण्ड लागु गरी बालमैत्री बनाईनेछ । शिक्षक, शिक्षिकालाई बाल अधिकार तथा प्रजनन् स्वास्थ्य सम्बन्धी अनुशिक्षण दिईनेछ ।
* बालबालिका केन्द्रित कला तथा साहित्य महोत्सव कार्यक्रम सञ्चालन गरिनेछ ।
* आधुनिक, वैज्ञानिक आविष्कार तथा विविध रचनात्मक नवप्रवर्तन कार्यका लागि युवा वैज्ञानिकहरुलाई प्रोत्साहन गरिनेछ ।
* शिक्षक सम्मेलन तथा शिक्षा दिवसका दिन नगर शिक्षक पदक प्रदान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
* नगरपालिकाले गठन गरेका विषयगत शिक्षण विभागलाई सुद्धढीकरण गरिनेछ । सबै नगरबासीलाई स्नातक बनाउने लक्ष्यलाई पुरा गर्न यस नगरपालिकाको वडा नं. १० स्थित श्री कपन बहुमुखी क्याम्पसलाई नगरपालिकाको नमुना क्याम्पसनका रुपमा विकास गरिनेछ ।
तपाइँको प्रतिक्रिया ।