काठमाडौं क्षेत्र नम्बर ३ का सांसदहरुले प्रधानमन्त्रीलाइ बुझाए ध्यानकर्षण पत्र
कपन अनलाइन
काठमाडौँ, जेठ २९ । प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे र बागमति प्रदेश सभा सदस्य बिमल ठकुरी सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाइ भेटि ध्यानाकर्षण पत्र बुझाएका छन ।
उनीहरुले काठमाडौं क्षेत्र नम्बर ३ का समस्याहरुको बारेमा प्रधानमन्त्री लाइ ध्यानाकर्षण गराएका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको सांसदहरुको टोलीले गोकर्णेश्वर महादेव मन्दिरदेखि पर्यटकीय क्षेत्र सुन्दरीजलसम्म जाने बाटो निमार्ण, सुन्दरीजलमा शिवपुरी आरक्षणको ढाँट हटाउने व्यवस्थाको पहल,लगायत समसामयिक राजनीतिक बिषयमा छलफल गरेको प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले जानकारी गराएका छन ।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ अन्तर्गत पर्ने नेपाल ट्रष्टको नाममा रहेको गोकर्ण वनका कारण वागमति करिडोर अन्तर्गत गोकर्ण व्यारेज महादेव मन्दिरदेखि पर्यटकीय क्षेत्र सुन्दरीजलसम्म जाने बाटो हालसम्म पनि निर्माण हुन नसकेको साथै गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलमा शिवपुरी आरक्षणको ढाँटका कारण जनतामा समस्या आएको भन्दै त्यसको समाधानका लागि आवश्यक पहलकदमी चाल्न प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएको सांसद चालिसेले जानकारी गराएका छन् । ध्यानाकर्षण
पत्रमा भनिएको छ “गुह्येश्वरीदेखि सुन्दरीजलसम्म १० किलोमिटर मध्ये ५ किलोमिटर करिडोर सडक खुलिसके पनि गोकर्ण वनको पर्खाल सारेर बनाउनु पर्ने १०० मिटर सडक बन्न नसक्दा बाँकी बन्नुपर्ने ५ किलोमिटर सडक बन्न सकेको छैन । उक्त पर्खाल सारेर बाँकी ५ किलोमिटर करिडोर विस्तार गर्न सकिए बागमती करिडोर सडक गुह्येश्वरीदेखि सुन्दरीजलसम्म जोडिने छ । माकलबारीबाट गोकर्ण व्यारेज हुँदै गोकर्णेश्वर महादेव मन्दिर, उत्तरगयासम्म फराकिलो सड़क बनेमा स्थानीयका साथै तिर्थालुहरुका लागि समेत आवतजावतमा धेरै सुविधा पुग्नेछ साथै यस क्षेत्रमा यातायातको चाप पनि न्यूनिकरण हुनेछ ।
गोकर्ण वन नेपाल ट्रष्टको जग्गा भएको कारण हाल रहेको पैदल हिँड्ने बाटो पनि साँघुरो, भिरालो र जोखिमयुक्त रहेको छ । त्यसकारण सो बाटोवाट आवतजावत गर्नेहरुलाई असुविधा हुने गरेको छ । पैदलयात्री तथा दुईपांग्रे सवारी साधनहरु दैनिकजसो उकालोमा दुर्घटनामा पर्ने गरेका छन् । नेपाल सरकारको प्राथमिकतामा परेको क्षेत्र र सडक भएर पनि गोकर्ण व्यारेज क्षेत्रमा नेपाल ट्रष्टको जग्गामा सडक चौडा हुन नसक्दा करिडोर सडक निर्माण सम्पन्न हुन सकेको छैन ।”
“नेपाल ट्रष्ट अन्तर्गत रहेको गोकर्ण वनको जग्गामा पर्खाल सारेर सडक चौडा गरी १५ मिटर वा सो भन्दा फराकिलो सडक बनाउन सकिन्छ । सो स्थानमा अवरुद्ध सडक निर्माण कार्य सुचारु हुन सके करिडोर सडक गुह्येश्वरी देखि सुन्दरीजलसम्म जोडिनेछ । सो करिडोर सडकबाट स्थानीय तथा सवारीसाधनको आवतजावतका लागि धेरै सहज हुनेछ । यसले स्थानीय क्षेत्रको विकासको साथै आन्तरिक तथा बाह्य पर्यटनको विकासमा समेत थप टेवा पुग्नेछ । तसर्थ नेपाल ट्रष्टको गोकर्ण वनको जग्गामा सड़क चौडा बनाई स्थानीय जनताको माग पुरा गर्न सार्थक पहल गरिदिनु हुन सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष हार्दिक अनुरोध गर्दछु ” प्रधानमन्त्रीलाई बुझाएको पत्रमा भनिएको छ।
त्यस्तै सांसद ठकुरीले गोनपा १ सुन्दरीजलमा शिवपुरी आरक्षणको ढाँटका कारण त्यसक्षेत्रका ५ गाउँवस्ती र आरक्षण भित्र रहेका स्थानीयले घर जानको लागि, आफ्ना मामाघर, ससुराली जानको लागि समेत पैसा तिर्नु पर्ने अवस्थाका कारण स्थानीयको दैनिक जीवनयापनमा समेत समस्या भएको भन्दै त्यस क्षेत्रका जनतालाई प्रवेश शुल्कमा निशुल्क गर्नुपर्ने माग गरेका छन् ।
सांसद ठकुरीले बागमतिको धार्मिक क्षेत्र सुन्दरीमाई, वागद्वार जस्ता तिर्थ स्थलमा जाने तिर्थयात्री भत्तजनले पनि निकुञ्जलाई चर्को शुल्क तिर्नु पर्ने बाध्यताका कारण आन्तरिक पर्यटकको संख्यामा पनि कमी आएको उल्लेख गरे । निकुञ्ज क्षेत्रमा सुरक्षाका लागि चेक पोष्ट राखे पनि ढाँटमा शुल्क लिने कार्य हटाउन आवश्यक देखिन्छ ध्यानाकर्षण पत्रमा भनिएको छ स्थानीय जनताको दुःख बुझेर सम्माननीय प्रधानमन्त्रीज्यूले उपयुक्त निकासको सार्थक पहल गरिदिन आवश्यक रहेको व्यहोरा अनुरोध गर्दछु ।
सुन्दरीजलमा रहेको आर्मी चेक पोष्टले पारेको समस्या बारे केही दिन अघि प्रतिनिधि सभा सदस्य सांसद सन्तोष चालिसेले समेत संसदमा आवाज उठाएका थिए । उनले सुरक्षाका लागि चेक पोष्ट राखे पनि निकुञ्ज प्रवेशमा शुल्क तत्काल हटाउन आग्रह गरेका थिए ।