जेठ २६ गते देशभर प्रदर्शनमा आउदै चलचित्र ‘नीरफूल’

जेठ २६ गते देशभर प्रदर्शनमा आउदै चलचित्र ‘नीरफूल’

कपन अनलाइन

काठमाडौं जेठ २५ । आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को बिहिबार प्रिमियर शो गरिएको छ । विसं २०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएको कथावस्तु समेटिएको सो फिल्म कोरोना–लकडाउनका बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको थियो । दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनीत फिल्मको निर्देशन लेखक तथा सञ्चारकर्मी फूलमान वलले गरेका हुन । सपना हराएपछि के हुन्छ ? जवाफ दिने कोसिस  गरिएको  उक्त चलचित्र  ‘नीरफूल’मा  भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको सङ्घर्ष देखाइएको छ ।

पटकथा लेखकसमेत रहेका निर्देशक वलले भूकम्पले भत्काएका मनहरुलाई फिल्म ‘नीरफूल’ मार्फत जोड्ने प्रयास गर्न खोजेको बताएका छन । “भूकम्पपछि भौतिक पुनर्निर्माण त भयो, तर भत्किएका सम्बन्धहरुको पुनर्निर्माण अझै बाँकी रहेको भन्दै वलले नीरफूल तिनै भत्किएका सम्बन्धहरुको सानो कथा भएको  बताएका छन । सचिन घिमिरे एसोसिएट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले छायांकन गरेका हुन  भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।

नेपाल–म्यानमार फ्रेन्ड्शिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा लगायतको पनि अभिनय रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।