दुवै खुट्टा गुमाएका कीर्तिमानी आरोही हरिबहादुर बुढालाई मन्त्री किरातीले गरे स्वागत

दुवै खुट्टा गुमाएका कीर्तिमानी आरोही हरिबहादुर बुढालाई मन्त्री किरातीले गरे स्वागत

कपन अनलाइन

काठमाडौँ, जेठ ९ । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई त्रिभुवन विमानस्थलमा भव्‍य स्वागत गरिएको छ ।काठमाडौं आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले झाँकीसहित स्वागत गरेका हुन् ।

भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन् ।  सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् ।विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पर्यटनमन्त्री किरातीले बुढामगरलाई सम्बोधन गर्ने कुनै शब्द नै नरहेको जनाए । उनले गरेको कामको साथमा सरकार सदैव रहेको उल्लेख गर्दै बुढामगरले विश्वलाई नै नयाँ सन्देश दिएको धारणा राखे । मन्त्री किराँतीले दुवै खुट्टा नभएर पनि अदम्य साहस, अथक मिहेनतले विश्व शिखरमा सफल आरोहण गर्न सफल भएको भन्दै बुढामगरलाई उच्च सम्मान गर्ने बताए ।

 

तपाइँको प्रतिक्रिया ।