बौद्धनाथ देखि शैलुङ सम्मको शान्ति दौड सम्पन्न
कपन अनलाइन
काठमाडौं बैशाख २८ । २५६७ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँको बौद्धनाथ देखि दोलखा जिल्लाको शैलुङ सम्म शान्ति दौड सम्पन्न भएको छ । बुद्ध जयन्ती तथा पर्यटन प्रवर्द्धन गर्नुको साथै विश्वभर शान्ति र अहिंसाको सन्देश फैलाउने उद्देश्य सहित श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा भएको शान्ति दौड सम्पन्न भएको हो ।
शान्ति दौडमा राष्ट्रिय धावक रत्न तुलाधर, दामोदर बुढामगर, रेम बुढामगर, महेन्द्र बज्राचार्य, शेर बहादुर थारु, जयराम लामा, राधा श्रेष्ठ, नितु तामाङ, दीपक शाक्य सहित दश जना धावक सहभागी भएका थिए । वैशाख २२ गते काठमाडौंको बौद्धनाथ परिसर बाट शुरु भएको उक्त दौडमा सहभागीहरु पहिलो दिन दोलालघाटमा बास बसेका थिए भने दोस्रो दिन मुडे र तेस्रो दिन शैलुङ पुगेका थिए ।
हातमा बुद्धिष्ट झण्डा बोकेका धावकहरुलाई बिभिन्न स्थानमा स्थानीयले खादा लगाएर स्वागत गरेको थियो । समुन्द्री सतहदेखि ३३ सय मिटर उचाइमा रहेको प्राकृतिक, धार्मिक, ऐतिहासिक एवम सांस्कृतिक पर्यटनको सङ्गम भएको शैलुङ डाँडा पुगेका धावकहरुले छ्योर्तेन परिक्रमा गरेका थिए ।
शैलुङमा धावकहरुलाई श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा कार्यकारी निर्देशक शान्तीमाया तामाङ, समितिका पदाधिकारीहरु पशुपतिनाथ खतिवडा (श्याम) जानुका भण्डारी श्रेष्ठ, राग्वा शेर्पा लगायत स्थानीयले स्वागत गरेका थिए ।प्रत्येक वर्ष श्री बौद्धनाथ क्षेत्र विकास समितिले बुद्द जयन्तिको अवसरमा सप्ताहब्यापी कार्यक्रम गर्दै आएको छ । सोहि कार्यक्रम अन्तर्गत काठमाडौं देखि शैलुङ सम्म शान्ति दौड आयोजना गरिएको समितिले जानकारी गराएको छ । दौड पुरा गरि धावकहरु बैशाख २४ गते नै काठमाडौं फर्किएका छन ।