नेसनल चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ४ ।
नेसनल चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ ।
आयोजक नेपाल बुद्धिचाल महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप बैशाख ५ देखि सुरु भएर १० गतेसम्म संचालन हुने जनाएको छ ।
महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने प्रतियोगिता काठमाडौं लाजिम्पाटस्थित होटल ले हिमालयमा हुनेछ ।
६ दिनसम्म चल्ने च्याम्पियनसिप अन्तर्गत २२ औं ओपन एवं सातौं वुमन्स गरी दुई विधामा च्याम्पियनसिप संचालन गरिने आयोजकले जनाएको छ ।
राउन्ड रोविन प्रणालीमा सञ्चालन हुने च्याम्पियनसिपमा दुवै विधामा १०-१० जना खेलाडीको सहभागीता रहने छ ।
नेसनल ‘बी’ च्याम्पियनसिपबाट छनौट भएका ८ जना, उच्च रेटिङ भएका एक र वर्तमान च्याम्पियन एकको सहभागीता हुने च्याम्पियनसिपमा खुलातर्फ उच्च वरीयता प्राप्त क्यान्डिडेट मास्टर विवेक थिङ हाल अस्ट्रेलिया भएका कारण सहभागी हुने छैनन् ।
२१ औँ नेशनल च्याम्पियनसिपका विजेता क्यान्डिडेटमास्टर पुरुषोत्तम चौलागाई हुन भने छैटौं वुमन्स नेसनल च्याम्पियनसिपका विजेता महिला फिडेमास्टर सुजना लोहनी हुन ।
२२ औं नेसनल चेस च्याम्पियनसिपको उपाधिका लागि वर्तमान च्याम्पियन पुरुषोतम चौलागाई सहित नेसनल ‘बी’ बाट छनौट भएका फिडेमास्टर रुपेश जैसवाल, फिडेमास्टर क्षितिज भण्डारी, पूर्व विजेता क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, पूर्व विजेता सूरविर लामा, झापाका प्रकाशचन्द्र नेपाल एवं राजन सुवेदी, काठमाडौका पुरुषोत्तम सिलवाल र दोलखाका राजिव कार्कीले प्रतिष्पर्धा गर्ने छन् । वैकल्पिक खेलाडीको रुपमा ललितपुरका राजन पुरी एवं सजिन महर्जन रहेका छन् ।
त्यसैगरी महिलातर्फ वर्तमान च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनी सहित नेसनल ‘बी’ बाट छनौट भएका पूर्व विजेता सिन्दिरा जोशी, झापाका कृतिसारा अधिकारी एवं पुनम प्रसाई, मोरङका खुश्बु थापा एवं शान्ति धिमाल, कास्कीका पूजा भण्डारी, काठमाडौंका विनिता कपाली, रिया श्रेष्ठ एवं मार्सल तामाङले सहभागीता जनाउनेछ । वैकल्पिक खेलाडीको रुपमा चितवनका लक्ष्मी कँडेल र पर्साका सुशिला गुरुङ रहेका छन् ।
च्याम्पियनसिपका विजेताले आगामी मे १ देखि ११ सम्म बंगलादेशको ढाकामा आयोजना हुने फिडे जोन ३.२ चेस च्याम्पियनसिप एवं कजकस्तानको आस्थानामा जुन ५ देखि १५ सम्म हुने एशियन कन्टिनेन्टलमा सहभागीता जनाउने छन् ।