पहिरोले केरौंजामा ६० घर बगायो, स्थानीयले गाउँ छाडे

१४ असार । भारी वर्षापछि झरेको पहिरोले ६० वटा घर बगाएपछि उत्तरी गोरखाको केरौंजा गाविसका स्थानीयवासीले आज गाउँ छाडेका छन् ।

गाउँमाथिको पहाडको ढिस्को झरेपछि केरौंजाको वडा नम्बर १, २, ३ र ४ का ४७५ घरधुरी उच्च जोखिममा छन् ।

भूकम्पले भत्काएको घरको भगनावशेष नजिकै त्रिपाल टाँगेर अस्थायी रूपामा बसोबास गर्दै आएका भूकम्पपीडित पहिरोले गाउँ पुर्ने खतरा बढेपछि गाउँ छाडेर अन्यत्रै बस्न सुरु गरेको स्थानीयवासी सुकबहादुर गुरुङले बताउनुभयो ।

गत शुक्रबार भारी वर्षापछि झरेको पहिरोले ६० वटा टहरो बगाएको थियो ।

‘भूकम्पले जोगिएको घर पहिरोले लग्यो’ उहाँले भन्नुभयो, ‘माथिबाट झरेको पहिरोले ६० घर गण्डकीमा पु¥यायो ।’ गाउँबाट विस्थापित भएका गाउँलेहरू आजदेखि मल्तीडाँडा, बंलाचोक डाँडा, गिटेन, जोङगंग, गन्चुकतिर बसेका छन् । गाउँ नजिकैबाट गहिरोगरी पहिरो गएकाले बस्तीहरू जोखिममा रहेको गुरुङले बताउनुभयो ।

हालै गएको भूकम्पले केरौंजा क्षेत्रमा रहेको जमिन चिराचिरा भएको थियो । लगातार पानी परेपछि चिरा परेको जमिन पहिरो गएको स्थानीयवासी बताउँछन् । गत वैशाख १२ गतेदेखि सानो, ठूलो पहिरो झरिरहेकाले वल्लो गाउँदेखि पल्लो गाउँसम्म जानसक्ने अवस्था नरहेको गुरुङको भनाइ छ । पहिरोले राहत सामग्रीको रूपमा पाएको चामल, दाल, नुन, चिनीलगायतका सामग्रीसमेत बगाएको छ ।

‘एकपछि अर्को विपद् आइलाग्यो’ स्थानीयवासी कान्छा गुरुङले टेलिफोनमा भन्नुभयो, ‘बालबालिका र वृद्धवृद्धालाई जोगाउन मुस्किल प¥यो ।’ पहिरोको उच्च जोखिममा गाउँ रहेकाले प्रहरीले सुरक्षित स्थानमा जान स्थानीयवासीलाई आग्रह गरेको छ । केरौंजा पुगेर प्रहरी टोलीले सुरक्षित स्थानमा स्थानीयवासीलाई राखेको प्रहरी नायब उपरीक्षक अर्जुन चन्द ठकुरीले बताउनुभयो ।

‘साना, ठूला पहिरो झरिरहेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छौँ’ उहाँले भन्नुभयो, ‘स्थानीयवासी सुरक्षित स्थानमा गइसके ।’ पहिरोले स्थानीय रानीवन सामुदायिक वन पनि नष्ट गरेको छ । पहिरोले बुढीगण्डकी आसपासका गाविस क्षेत्रमा रहेका गाउँहरू उच्च जोखिममा छ । भूकम्पले चिरा परेको जमिनमा लगातार पानी परेपछि पहिरो बगेको स्थानीयवासी बताउँछन् । पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले अन्यत्र सार्ने तयारी गरिरहेको जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।