सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा

सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा

कपन अनलाइन

काठमाडौँ, चैत्र ८ । नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित यस वर्षको घोडे जात्रा कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित घोडे जात्रा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरिएको  थियो  ।  समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र सो–जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गरेका थिए  ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित घोडे जात्रा घोडा दौडका अतिरिक्त यसअघि राष्ट्रपति पौडेलले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरे भने नेपाली सेनाको टुकडीले उनलाई राष्ट्रपति सलामी प्रदान गरेको थियो ।

समारोहमा ब्यानर प्रदर्शनी गर्नुका साथै अश्वकलाअन्तर्गत टाँगन र चार्जर घोडा दौड, सो जम्प, क्याभलरी ड्रिल राइड र डग सो, घोडचढी आर्चरी, महिला सवार सिक्सवार, म्युजिकल राइड, हङ्गेरियन पोष्टवारलगायतका विविध रोमाञ्चक कला प्रदर्शन गरिएको थियो । टुँडिखेलमा पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन सुरु भएको र त्यही प्रचलनअनुसार घोडे जात्रा मनाउन थालिएको बताइन्छ ।

सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडे जात्रा मनाउँदै आएको छ । घोडालाई मानिसको दैनिक जीवन र ठुला युद्धमा समेत प्रयोग गरिँदै आएको छ । हिमाली क्षेत्रमा अझै पनि प्रमुख यातायातको साधनका रूपमा घोडाको प्रयोग हुँदै आएको छ ।

टुँडिखेलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मन्त्रीगणलगायत विशिष्ट महानुभावहरुको  उपस्थिति रहेको थियो ।

घोडे जात्रा प्रयोग हुने ६६ वटा घोडामध्ये बग्गीका १०,  दौडसहित अश्वकलाका लागि ४६ र दौड विशेषका लागि १० पोनी घोडा रहेको निर्देशनालयले जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।