काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल गठन, बैशाख १५ गते बुढानिलकण्ठमा बैठक
कपन अनलाइन
काठमाडौं चैत्र १ ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख (उपप्रमुख) सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ । मंगलवार बालाजु बाइसधाराको सभा कक्षमा बसेको उपप्रमुख/उपाध्यक्षहरुको पहिलो वैठकले सञ्जाल गठन गरेको हो ।
कानुनले उपप्रमुख/उपाध्यक्षलाई दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदान प्रदान गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको हो । सञ्जालले सामुहिक प्रयत्नमा क्षमता विकास र कानुनी तथा संस्थागत विकासको प्रबन्धमा सहकार्य गर्नेछ ।’ कार्यवाहक प्रमुख डंगोलले भनिन , ‘क्षेत्राधिकारमा भएका जिम्मेवारीमध्ये काठमाडौँ महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । संयोजन र थालनी महानगरले गरेको हो तर यो सबै पालिकाको साझा कार्यक्रम हो । यो अवसरलाई स्थानीय विवाद निरुपणमा साझा बुझाइ विकास गर्ने थलोको रुपमा उपयोग गरौँ । यसको सिकाईलाई विकास र विस्तार गर्ने योजना बनाऔँ ।’
बैठकमा वुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, टोखाका उपप्रमुख मुरारी तामाङ्, नागार्जुन नगरकी उपप्रमुख शुशिला अधिकारी, कागेश्वरी मनोहरा नगरकी उपप्रमुख शान्ता थापा, चन्द्रागिरी नगरकी उपप्रमुख बसन्ती श्रेष्ठ सहभागी हुनुभएको थियो । त्यस्तै गोकर्णेश्वरकी उपप्रमुख सान्नानी लामा, तारकेश्वरकी उपप्रमुख सिर्जना वुर्लाकोटी, मध्यपुर थिमीका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, सूर्य बिनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराई उपस्थित हुनुहुन्थ्यो । ललितपुरको महाङ्काल गाउँपालिकाबाट उपाध्यक्ष डोल्मा माया गोले उपस्थित रहेका थिए ।
सञ्जालको बैठक हरेक महिना बस्ने निर्णय भएसंगै यसपछिको बैठक बैशाख १५ गते बुढानिलकण्ठ नगरपालिकाले आयोजना गर्नेछ । त्यस बैठकमा महानगरकी उपप्रमुखले अध्यक्षता बुढानिलण्ठ नगरपालिकालाई हस्तान्तरण गर्नेछन । त्यो बैठकले अर्को बैठकको मिति र स्थान तय गर्नेछ ।
यसरी तय भएको बैठक जुन पालिकाले आयोजना गर्ने हो, बैठकको अध्यक्षता पनि त्यही पालिकाका उपप्रमुख/उपाध्यक्षलाई हस्तान्तरण हुनेछ । हरेक वैठकमा उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित एउटा विषयमा बिज्ञको प्रस्तुतिकरण र छलफल गरिने योजना बनाइएको छ । जसअनुसार आगामी बैठकमा अनुगमन तथा सुपरीवेक्षण विषयमा विषय विज्ञबाट प्रस्तुति र त्यसपछि छलफल हुनेछ ।