पूर्वी उपत्यकाका ६ वटा नगरपालिका बीच विकास निर्माणमा साझा धारणा बनाउने समझदारी

पूर्वी उपत्यकाका ६ वटा नगरपालिका बीच  विकास निर्माणमा साझा धारणा बनाउने समझदारी

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ११ । पूर्वी उपत्यकाका ६ वटा नगरपालिकाबीच विकास निर्माणमा साझा धारणा बनाउने समझदारी बनेको छ । पूर्वी उपत्यकाका ६ वटा नगरपालिका गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंकरापुर, सूर्यविनायक, मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकाबीच विकास निर्माणमा साझा धारणा बनाउने समझदारी बनेको हो ।

चाँगुनारायण नगरपालिकाको संयोजनमा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका प्रमुख  बासुदेव थापा, मध्यपुर थिमी नगरपालिका  प्रमुख  सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख  जीवन खत्री, शंखरापुर नगरपालिकाकी उप प्रमुख  समिता श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिकाका  प्रमुख  उपेन्द्र कार्की र गोकर्णेश्वर नगरपालिकाका प्रमुख  दिपक कुमार रिसाल सहित सरोकारावालाहरुको सहभागिता थियो । ६ वटा कार्यपत्र प्रस्तुत कार्यक्रमले विशेष गरि पूर्वी भेगमा देखिएका अल्झनहरुका विषयमा साझा धारणहरु बनाउने, त्यसलाई कार्यान्वयनमा लाग्ने र भइरहेका विकासलाई छिटो, छरिटो र प्रभावकारी ढंगले कार्यान्वयन गर्ने समझदारी भएको कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कार्कीले जानकारी गराए ।

नगर प्रमुख उपेन्द्र कार्कीका अनुसार पूर्वी उपत्यकाका नगरपालिकामा भइरहेका विकास निर्माणका प्रयासहरु, यहाँको आवश्यकता, यो सँग सम्बन्धी अधिकार सम्पन्न बाग्मती सम्यता विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण, पिआईडी, केयूकेएलबीचको समन्वयलाई कसरी अगाडि बढाउने ? समस्याहरु के-के छन् ? स्थानीय तहको धारणा के हो ? अरु संस्थाले के गरिरहेका छन र समन्यलाई कसरी अगाडि बढाउने ? भन्ने उद्देश्यका साथ आयोजना गरिएको बैठकले विकास निर्माणमा साझा धारणा बनाउने सहमति गरेको जानकारी गराए  ।

मनोहरा करिडोरसँगै एकीकृत जग्गा विकासको अवधारणलाई अगाडि बढाएर बस्ती विकास पनि सँगै सँगै लग्न र प्रभावकारी ढंगले अगाडि बढाउन पनि बैठकले माग गरेको छ । मनोहरा करिडोभित्र कागेश्वरी, शंखरापुर र गोर्कर्णेश्वर नगरपालिकाकाको २५ हजार रोपनी क्षेत्रफल पर्छ ।

त्यस्तै, बैठकले विकास निर्माणमा डुब्लीकेशन हुन नहुने र त्यसका लागि सबै तहबीच समन्वय गर्ने निर्णय पनि भएको छ । स्थानीय तहले तल्लो तहमा गर्ने सबै समन्वय गर्ने, वातावरण बनाउन पहल गर्ने र स्थानीय आवश्यकको बोध गराउनुपर्ने र अन्य निकायले स्थानीय तहको आवश्यकतालाई मध्यनजर गरेर नीति तथा कार्यक्रम, योजना र बजेट तयार गर्ने निर्णय गरेको छ ।प्रमुख कार्कीले पूर्वी भेगका स्थानीय तह र सरोकारहरुबीच महत्वपूर्ण शूरुवात भएको बताउँदै यहाँको विकास निर्माणलाई समन्वयात्मक र प्रभावकारी ढंगले अगाडि बढाउन सहयोग पुग्ने विश्वास समेत ब्यक्त  गरेका छन  ।

 

 

 

तपाइँको प्रतिक्रिया ।