यात्रुलाई जोखिमपुर्ण यात्रा गराउने २१ हजार ५ सय ८ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

यात्रुलाई जोखिमपुर्ण यात्रा गराउने २१ हजार ५ सय ८ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

कपन अनलाइन
काठमाडौं फागुन ११।
सवारी साधनमा यात्रुलाई जोखिमपुर्ण यात्रा गराउने २१ हजार ५०८ जना चालकलाई काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस आर्थिक बर्षको माघ मसान्तसम्म ढोका खुल्ला राखेर सवारी गुडाँउदै गरेका मात्रै १५ हजार ६२९ जना चालकहरू कारबाहीमा परेका छन् । जसमा साउन महिनामा २ हजार ६८३, भदौमा २ हजार ८७३, असोजमा ७ सय ४९, कार्तिकमा १ हजार ८२६, मंसिरमा २ हजार ८२६, पुसमा २ हजार ७३४ र माघ महिनामा १ हजार ९३८ जना चालक रहेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले ढोका खुल्ला राखेर सवारी साधन गुडाउँदा परिचालक तथा यात्रु ढोकाबाट खसेर दुर्घटना हुने भएकाले जोखिम न्यूनीकरणका लागि कारबाहीलाई तिव्रता दिइएको  बताए  ।
यस्तै, क्षमता भन्दा बढि यात्रु राखेर सवारी चलाउँदै गरेका ५ हजार ८०२ जना चालकलाई पनि कारबाही गरिएको छ । साउन महिनामा ७ सय ९, भदौमा १ हजार ३४, असोजमा ७ सय ४९, कार्तिकमा ७ सय ५९, मसिरमा ७ सय ५९, पुसमा १ हजार ११ र माघ महिनामा ७ सय ८१ जना चालकलाई कारबाही गरिएको हो ।
त्यस्तै ७७ ओटा टेम्पो चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । टेम्पोको पछाडि यात्रुलाई झुण्ड्याएर यात्रा गराएको पाइएपछी उनिहरूलाई कारबाही गरिएको हो ।
क्षमता भन्दा बढी यात्रु राख्दा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा क्षमता भन्दा बढी यात्रु नराख्न यतायात व्यवसायीलाई र सवारी साधनमा कोचिएर तथा झुण्डीएर यात्रा नगर्न यात्रुलाई प्रवक्ता भट्टले अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।