कागेश्वरी मनोहरा नगरपालिकाको सातौ नगर सभा
कपन अनलाइन
काठमाडौँ, माघ ५ ।कागेश्वरी मनोहरा नगरपालिका कोसातौ नगर सभा शुरु भएको छ । बिहिबार कागेश्वरी मनोहरा नगरपालिकाको नर्लिंङ रिसोर्टमा भएको उक्त नगर सभाको उद्घाटन सत्रको अध्यक्षता नगर उपप्रमुख शान्ता थापाले गरेकी थिइन । सभामा नगर प्रमुख उपेन्द्र कार्की प्रमुख प्रशासकीय अधिकृतअजय बर्तौला , वडा अध्यक्षहरु नगर सभा सदस्यहरु, नगरका बिभिन्न शाखा प्रमुख सहित कर्मचारीहरुको उपस्थिति रहेको उक्त नगर सभा संचालन प्रशासन प्रमुख माधव खतिवडाले गरेका थिए ।
नगर प्रमुख उपेन्द्र कार्कीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेको सभामा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले स्वागत मन्तब्य सहित नगरपालिकाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। उनले हाल सम्म नगरपालिकाले गरेका उपलब्धिको बारेमा समेत जानकारी गराउदै हिउँदे नगरसभामा विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा बजेट विनियोजन गर्नुको साथै केही योजनाहरू र बेधयकहरु संशोधन गर्ने प्रस्ताब रहेको समेत जानकारी गराएका थिए ।उनले नगरपालिकाको वित्तीय प्रगति, आर्थिक बर्ष २०७९/८०र २०७९ साल साउन १ गते देखी २०७९ पौष मसान्त सम्म गरि सम्पूर्ण वडा गरि कुल ९ करोड १९ लाख २९ हजार ५सय ८० रुपैया राजश्व संकलन भएको जानकारी गराए ।
उनले आय व्ययको अवस्थाको बारेमा समेत जानकारी गराएका थिए । उनले गत आर्थिक बर्ष बाट दायित्व सरेर आएका ठेक्का योजनाहरु ४६ वटा रहेको र यस आर्थिक बर्षमा नया ठेक्का ४ वटा गरि जम्मा ५० वटा रहेको जानकारी गराए ।,त्यसै गरि ६ वटा योजना सम्पन्न भइ सकेको र १६ वटा योजनाहरु ८५ प्रतिशत भन्दा माथि भौतिक प्रगति भएको समेत जानकारी गराए १९ वटा योजनाहरुमा ५० देखि ८५ प्रतिशत सम्म भौतिक प्रगति भएको र ९ वटा योजनाको भौतिक प्रगति ५० प्रतिशत भन्दा कम रहेको समेत जानकारी गराए ।
नगर सभामा लेखा समितिका संयोजक एबम वडा नं ३ का वडा अध्यक्ष राममणि पुडासैनीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए भने बिधायन समितिका संयोजक वडा अध्यक्ष भिमसेन थापाले बिधायन समितिको प्रतिबेदन (ऐन, कानुन कार्यविधि) प्रस्तुत गरेका थिए । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ देखि ९ वटै वडाका वडा अध्यक्षहरुले शुभकामना मन्तब्य सहित राय सुझाब दिएको उक्त सभाको खुल्ला छलफलमा विगत ६ महिनाको प्रगति विवरणमा समीक्षा तथा विभिन्न जिज्ञासाहरू राख्नुका साथै स्थानीय सरकारले जनताले प्रत्यक्ष अनुभूति गर्न गरी काम गर्नुपर्नेमा सबैको जोड रहेको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्र कार्कीले जनचाहना अनुरुप नगरपालिकाले काम गर्दै आएको जानकारी गराएका थिए ।उनले शिक्षा, स्वास्थ्य ,खानेपानी, व्यवस्थित शहरी विकास, विपद व्यवस्थापन फोहोरमैला तथा बातावरण व्यवस्थापन, उद्यमशिलता, खेलकुद, पर्यटन, उज्यालो नगर सुरक्षित नगर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार योजना, कृषि पशुपंक्षी, सुशासन, सामाजिक समावेशीकरण लगायतको क्षेत्रमा नगरले गरेका कामको बारेमा जानकारी गराएका थिए।
उनले कागेश्वरी मनोहरा नगरपालिकाको बिकासको लागि सबैजना संग हातेमालो गर्दै आघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । अध्यक्षताको आसन बाट बोल्दै नगर उप प्रमुख शान्ता थापाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाको सर्वाङगीण विकासमा सबैजना एक जुट हुनु पर्नेमा जोड दिदै सभाको पूर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए । जारी नगर सभामा काम गर्दा जनताबाट आएका गुनासा समस्याहरुको पनि सभामा छलफल संगै योजनाहरु छिटो छरितो, पारदर्शिता, अनुगमन गर्ने सन्दर्भमा पनि छलफल गरिने नगरपालिकाले जानकारी दिएको छ ।