नेपाल मेडिकल कलेज आत्तरखेलमा बेथिति बढेको भन्दै स्थानीयहरुको प्रदर्शन
कपन अनलाइन
काठमाडौँ, पौष २२।
गोकर्णेश्वर नगरपालिकाको आत्तरखेलमा अवस्थित नेपाल मेडिकल कलेजकाे अस्पतालमा बेथिति बढेको भन्दै शुक्रबार स्थानीयले प्रदर्शन गरेका छन् ।
उपचारमा लापरबाही गरेको, प्रशिक्षार्थी डाक्टरको हातबाट बिरामीको उपचार गराउँदा मृत्यु हुने गरेको, राज्य र स्थानीय सरकारले ज्येष्ठ नागरिकलाई उपचारमा दिएको छुट नदिएको, अस्पतालले सार्वजनिक जग्गा र खोल्सा मिचेर संरचना बनाएको, अन्डरग्राउन्ड पार्किङ रहेको स्थानमा प्रयोगशाला निर्माण गरी सेवाग्राहीसँग चर्को पार्किङ शुल्क उठाएको जस्ता विषयको विरोध गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।
ज्येष्ठ नागरिक परिचयपत्र वा नागरिकताको आधारमा नगरपालिकाले सिफारिस गर्ने गरेपनि विरोधमा उत्रिएका स्थानीयले राज्यले ज्येष्ठ नागरिकलाई दिएको ५० प्रतिशत छुट सबैले पाउनु पर्ने माग गरेका छन् ।
स्थानीय वा गैह्र स्थानीयभन्दा पनि राज्यको सुविधा उपभोग गर्न पाउनु ज्येष्ठ नागरिकको अधिकार भएपनि नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले ज्येष्ठ नागरिकको त्यो अधिकार नदिएको स्थानीयहरुले आरोप लगाएका छन ।
अस्पताल प्रशासनबाट विरोधमा उत्रिएकाहरू माथि गुन्डा परिचालन गरेको आरोप लगाउँदै उनीहरूले पार्किङ निःशुल्क हुनुपर्ने, अस्पताल भवनले नक्सापास नगरी बनाएको संरचना भत्काउनु पर्ने, मिचिएको सार्वजनिक जग्गा फिर्ता हुनु पर्ने जस्ता माग राखेका छन।