कपन जोरधारा बैठक र छलफलमै व्यस्त : सांसद खोज्दै “काकाकुल कपन”
कपन अनलाइन
काठमाडौँ, पौष २३।
कपन जोरधारा खानेपानी संरक्षण संस्था भेला,बैठक,अन्तरक्रिया र छलफल मै सिमित बनेपछि बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ कपन क्षेत्रका हजारौ उपभोक्ता लामो समय देखि खानेपनियो अत्यावस्यक सेवाबाट बन्चित बनेका छन।
करिव २ महिना देखि कपन जोरधाराबाट खानेपानी वितरण पूर्ण रुपमा बन्द भएपछि किनेर खानेपानी प्रयोग गर्न बाध्य बनेका उपभोक्ताहरुले पटक पटक सरोकारवाला पक्ष संग समस्या सामाधानको माग गरेपनि अहिलेसम्म सुनुवाई हुन् सकेको छैन ।
महाँकाल पानी ट्यांकीबाट पाइप जोडेर जोरधाराको संरचना प्रयोग गरेर खानेपानी वितरण गर्ने कि नयाँ डिप बोरिङ्ग खन्ने भन्ने विषय टुंगोमा नपुग्दा कपन क्षेत्र काकाकुल बनेको छ।
“काकाकुल” बनेको कपन क्षेत्र अहिले भर्खरै सम्पन्न भएको निर्वाचनमा विभिन्न योजना,परियोजना,खानेपानीका लागि एकीकृत समिति आदिका भाषण गरेका प्रतिनिधि सभा र प्रदेस सभा सदस्यहरुलाई खोजिरहेको छ।
विगत २० वर्ष देखि हजारौ घरधुरीमा खानेपानीको सेवा उपलव्ध गराउदै आएको महत्वपूर्ण संस्था बन्द हुने अवस्थामा पुग्दा पनि काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा र काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित प्रदेस सभा सदस्य जयराम थापा कानमा तेल हाले जसरी मौन बस्नुलाई निकै चासो पुर्वक हेरिएको छ।
विभिन्न फेस्टिभल ,सपथ र बधाई ज्ञापन मै व्यस्त रहेका प्रतिनिधि र प्रदेस सभा सदस्यहरुले आफ्नो निर्वाचन क्षेत्रका ठुलो जनशंख्या अत्यावस्यक सेवाबाट बन्चित भएर चरम मानसिक तथा आर्थिक पिडा भोग्दा पनि कहिँ कतै पहल नगर्नु मतदाता प्रति चरम बेवास्ता र लापरवाही रहेको भन्दै उपभोक्ताहरुले आक्रोस पोख्न थालेका छन।
संस्था ,वडा र नगरपालिका कार्यालय तालाबन्दी गर्ने पुर्व अध्यक्षको चेतावनी
कपन जोरधारा खानेपानी संरक्षण संस्थाका पुर्व अध्यक्ष धुर्वराज न्यौपानेले संस्था ,वडा र नगरपालिका कार्यालय तालाबन्दी गर्ने चेतावनी दिएका छन।
पुस २२ गते संस्थाको कार्यालयमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी सहितको उपस्थितिमा भएको छलफलमा बोल्दै न्यौपानेले तुरुन्त समस्याको समाधान हुनुपर्ने अन्यथा सम्पूर्ण उपभोक्ता सहितको सहभागितामा तालाबन्दी गर्ने चेतावनी दिएका थिए।