साँखु शालीनदीमा एक महिने श्रीस्वस्थानी माधवनारायण मेला आज बाट शुरु

साँखु शालीनदीमा एक महिने श्रीस्वस्थानी माधवनारायण मेला आज बाट शुरु

कपन अनलाइन 

काठमाडौँ, पौष २२।हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायण मेला   आजबाट सुरु भएको छ ।पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

आजैबाट  काठमाडौं शंखरापुर नगरपालिका साँखु स्थित  शालीनदीमा स्वस्थानी माधब नारायण  मेला सुरु भएको छ । माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् ।

मेला सञ्चालनका लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र पौराणिक महत्वको सहर साँखुका आठवटै टोलबाट पालैपालो अध्यक्ष छान्ने व्यवस्था गरिएको छ । यस पटकदेखि दुई वर्षका लागि साल्खा टोलका बालकृष्ण अध्यक्ष  बनेका छन ।व्रतालुहरुलाई साँखुबाट बाहिर परदेश ,पशुपति, फर्पिङ, पनौति र चाँगुनारायण  लगिने क्रममा आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गर्ने, आवश्यक सरसहयोगका लागि नेपाल स्काउट सक्व क्रु लगायत बन्दोबस्तीका सामान सहित स्वयमसेवकहरु परिचालित गर्ने बताएका छन् ।

साँखु सालीनदी पुग्नका लागि  शालिनदी यातायात प्राली, बाबा गोकर्णेश्वोर यातायात प्राली लगायतले यातायात सेवा प्रदान गर्ने र प्रत्येक गाडिमा भाडादर समेत टाँसेर सेवा सुविधा दिने, सुरक्षाका लागि सालीनदी परिसरभित्र विभिन्न स्थानमा सिसिटिभी क्यामेराको व्यवस्था मिलाउनुका साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा महानगरीय प्रहरी प्रभाग साँखुको टोली परिचालन  गरिएको छ।  यस्तै भक्तजनहरुका लागि स्वास्थ्यकर्मीहरु सहितको प्राथमिक उपचार कक्ष राखि निःशुल्क रुपमा औषधोपचारको व्यवस्था गरिने, भक्तजनहरुको लागि निःशुल्क खानेपानी वितरण गरिने, कोभिडको जोखिमलाई ध्यानमा राख्दै निःशुल्क मास्क वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।मेलामा देश तथा विदेशबाट ३० देखि ३५ लाख सम्म धार्मिक पर्यटक आउने सालीनदी सुधार समितिले अपेक्षा लिएको छ ।

फोटो : फाइल

तपाइँको प्रतिक्रिया ।